

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले सामुदायिक विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना अन्तर्गत ‘एक दिन प्रहरीसँग’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै समाजमा शान्ति सुरक्षा कायम गर्न सुरक्षासम्बन्धी सचेतनामूलक ‘एक दिन प्रहरीसँग’ कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमले सामाजिक सचेतना अभिवृद्धि गर्नुका साथै अपराध नियन्त्रण, लागुऔषध दुर्व्यसन र हिंसाविरुद्ध जनचेतना फैलाउने अपेक्षा गरिएको छ ।
सरस्वति माध्यमिक विद्यालय तर्ताङ्गका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुले मंगलबार जिल्ला प्रहरी कार्यालय दैलेखको अवलोकन भ्रमण गरि प्रहरी र प्रहरी कार्यालयको काम कर्तव्यको बारेमा प्रस्तुतिकरण मार्फत जानकारी लिएका छन् ।

दैलेखका प्रहरी प्रमुख (डिएसपी) श्रवणकुमार विकले अपराध न्यूनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै आधारभुत सुरक्षा, ट्राफिक नियम, लागुऔषध, साईबर अपराध, मानबेचबिखन लगायतका विषयमा जानकारी दिए ।
विद्यार्थीलाई कानुनी साक्षरता, बालविवाह, ट्राफिक सचेतना र साईबर अपराध विषयमा जानकारी गराउने सामान्य जानकारी गराउनु नै ‘एक दिन प्रहरीसँग’ कार्यक्रम मुख्य उद्देश्य रहेको डिएसपी विकको भनाइ थियो ।
हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











