

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले प्रदेश सरकारमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न निर्देशन दिएका छन् ।
सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दलहरूको सिट संख्यालाई मुख्य आधार मानेर मन्त्रालय बाँडफाँट गर्न निर्देशन ओली र प्रचण्डको छ। गत साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि यस्तो आधार तय गरिएको हो ।

सहमति अनुसार मन्त्रालय बाँडफाँट गर्दा सम्बन्धित दलहरूको प्रदेशसभा सदस्य संख्याको अनुपातलाई आधार मानिनेछ । त्यस्तै मुख्यमन्त्री तथा प्रदेशसभाको सभामुखको जिम्मेवारीलाई समेत समग्र शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ ।
मन्त्रालय छनोट गर्दा भने पालैपालो प्राथमिकता दिने व्यवस्था गरिएको छ। पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने र त्यसपछि दोस्रो मन्त्रालय मुख्यमन्त्री रहेको दलले छनोट गर्ने सहमतिमा उल्लेख छ ।
त्यसपछि यही क्रम पालैपालो दोहोर्याउँदै सबै मन्त्रालयको बाँडफाँट गरिनेछ । यसरी प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँट गर्दा प्रदेशसभामा दलहरूको शक्ति सन्तुलन कायम गर्दै दुवै पक्षलाई समान र न्यायोचित अवसर दिने आधार तय गरिएको हो ।











