

सुर्खेत । सुर्खेत प्रहरीले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।
जिल्लाको भेरीगंगा नगरपालिका–१३, रामघाटमा घरयासी विवादका क्रममा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले आज पक्राउ गरेको हो ।

गएराती भेरीगंगा–१३, रामघाटका जयबहादुरले घरयासी विवादपछि आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घाइते महेश्वरीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा ल्याईपनि अवस्था जटिल देखिएकाले थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा गरी करिब ३५ देखि ३६ प्रतिशत जलेको छ ।
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार











