

मुगु । जिल्लाको सोरु गाउँपालिका–८, रुममा रहेको रुमखोला लघु जलविद्युत् आयोजना करिब दुई वर्षदेखि बिग्रिएर बन्द हुँदा पाँच सय घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन् ।
सोरु गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको संयुक्त लगानीमा २०७८ सालमा निर्माण गरिएको ३५ किलोवाट क्षमताको आयोजना बिग्रिएपछि लामो समयसम्म सञ्चालनमा आउन सकेको छैन् । आयोजना बन्द हुँदा रुमसहित तारापानी, गिलाहा, कच्चे, सिप, नुवाकोटलगायतका बस्ती प्रभावित भएका छन् ।
विद्युत सेवा बन्द भएपछि आर्थिक अवस्था राम्रो भएका परिवारले सोलार बत्ती प्रयोग गरिरहेका छन् भने विपन्न परिवार झरो र दियालोको भरमा रात बिताउन बाध्य छन् । विद्युत् अभावका कारण विद्यार्थीको पढाइ तथा नागरिकको दैनिक जनजीविकामा समेत असर परेको स्थानीयवासीले बताएका छन् ।

रुम गाउँ धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेकाले विद्युत अभावले यहाँ आउने धार्मिक पर्यटकसमेत प्रभावित भएका छन् । स्थानीयवासीले तत्काल आयोजना मर्मत गरी नियमित विद्युत् सेवा सञ्चालन गर्न माग गर्दै आएका छन् ।
तर, सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाहीले मर्मतका लागि पहल नभएको भन्ने कुरा निराधार रहेको बताए । उनका अनुसार गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अहिले मर्मतको काम गरिरहेको छ।
अध्यक्ष शाहीले मर्मत कार्य अन्तिम चरणमा पुगेको र एक महिनाभित्र विद्युत सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।











