२०८३ साउन २७ , बुधबार
Sky News Nepal
August 12, 2026

बडीमालिकामा भदौ १ देखि पूजा सुरु, मुख्य मेला ११ गते



बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुँदैछ । मुख्य पूजा भने भदौ ११ गते हुनेछ ।

दर्शनार्थीको बढ्दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिनअघि नै यहाँ मेला सुरु गर्ने निर्णय गरिएको हो । जिल्लामा भएको सर्वपक्षीय बैठकले एकैदिन अत्यधिक भीड हुने भएकाले भदौ १ गतेदेखि नै पूजा सुरु गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले जानकारी दिए ।

मन्दिरका पुजारी नेत्र  पाध्यायका अनुसार यहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ । यस वर्ष भदौ १२ गते जनैपूर्णिमा भएकाले त्यसको अघिल्लो दिन बडीमालिकामा मुख्य पूजा हुनेछ ।

उनका अनुसार गत वर्ष मन्दिरमा करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए । हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ त्यहाँ पुग्ने परम्परा छ ।

यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेको छ । त्यस आधारमा पनि दर्शनार्थीको सङ्ख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताए ।

बडीमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी सुरु गरिएको जानकारी दिए । त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका उनले बताए ।

प्रमुख खडकाले भने, ‘मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णयसमेत गरिएको छ । मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचनापाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागुपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ ।’

निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले त्यहाँ पुग्ने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

समुद्री सतहबाट करिब चार हजार २०० मिटर उँचाइमा रहेको बडीमालिका क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको सङ्गमका रुपमा परिचित छ । स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उनले जानकारी दिए।

टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ । भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पुर्‍याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्‍याइएको हो ।

सञ्चारमन्त्री तिमिल्सिनाले यही साउन ८ गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । उनले दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै बडीमालिकामा जतिसक्दो छिटो सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन् । निर्देशनपछि मन्त्रालयले नेपाल टेलिकमसँग निरन्तर समन्वय गर्दै सेवा विस्तारका लागि आवश्यक पूर्वाधार, उपकरण ढुवानी र जडान प्रक्रियालाई तीव्रता दिएको हो ।

यसबीच सञ्चारमन्त्री डा। तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग समेत छलफल गरी दूरसञ्चार पूर्वाधार जडानका लागि आवश्यक स्थान, स्थानीय सडकको अवस्था तथा स्थानीय तहबाट हुन सक्ने सहयोगका विषयमा जानकारी लिएका छन् । स्थलमार्गबाट उपकरण तथा सामग्री लैजान सम्भव नदेखिएपछि हेलिकप्टरमार्फत ढुवानीको व्यवस्था मिलाउन उनले निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार
Translate »