२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

बोक्सी जस्ता कुप्रथालाई जरैदेखि उखेल्न साझा प्रयास आवश्यक : एसएसपी राठौर



सुर्खेत । बोक्सीको आरोपमा हुने हिंसा, विभेद र मानवअधिकार उलंघनका घटना अन्त्य गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।

नेपालबाट बोक्सी कु–प्रथाको उन्मूलनको राष्ट्रिय महाअभियान अन्तर्गत ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले बुधबार यहाँ जनचेतनामूलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शनी गरेको हो ।  कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरले नेपाल प्रहरीले बोक्सी कु–प्रथाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै पीडितलाई न्याय र सचेतना फैलाउन सधैं हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

उनले शिक्षा तथा चेतनाको माध्यमबाट समाजमा रहेका यस्ता कुप्रथाहरुलाई जरैदेखि उखेल्न साझा प्रयास आवश्यक रहेको औल्याए ।अन्धविश्वास र अशिक्षा नै यस्ता घटनाको मुख्य जड भएकाले सहरीसँगै ग्रामीण क्षेत्रमा समेत व्यावहारिक शिक्षा पु¥याउनु आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले सामाजिक न्याय पाउन नसकेका बोक्सीको आरोप खेपिरहेका महिलाको मानव अधिकारको दयनीय अवस्था बारम्बार सार्वजनिक हुँदै आएको जनाईन् । उनले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा वा अन्य आधारमा शारीरिक–मानसिक, यौनजन्य, मनोवैज्ञानिक र हिंसाजन्य कार्य समाजमा अहिलेपनि विद्यमान रहेकाले जरैदेखि उखेल्न अब ढिलाई गर्न नहुने बताईन् ।

समाज सुधारक तथा इगरब्रिज बोर्डिङ माध्यमिक विद्यालयका संस्थाक हेमप्रकाश भुसालले बोक्सीको आरोपमा हुने हिंसा, विभेद र मानवअधिकार उल्लंघनका घटनाहरु समाजका लागि एक कलंक भएको बताए । उनले यस्ता कुप्रथा र अन्धविश्वासलाई जरैदेखि उखेल्नका लागि चेतनामूलक कार्यक्रमहरु आयोजना गरिनु एकदमै सकारात्मक र सह्रानीय कदम भएको जनाए ।

कार्यक्रममा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) का उपाध्यक्ष मनु राना क्षेत्रीले बोक्सीको आरोपमा महिलासँग कसरी अत्याचार हुन्छ र उनीहरु कतिसम्म पीडा सहन विवश छन् भन्ने कुरा ‘बोक्सी कु–प्रथाको उन्मूलनको राष्ट्रिय महाअभियान’ ले प्रस्तुत गरेको जनचेतनामूलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शनीले स्पष्ट पारेको बताईन् ।

उनले कानुनतः बोक्सीको आरोप लगाउनु वा सो आरोपमा कसैलाई सास्ती दिनु गम्भीर अपराध मानिएपनि अन्धविश्वास, अशिक्षा र सचेतनाको अभावले कुनै–न–कुनै रुपमा कायमै रहेको जनाईन् ।

‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष तथा अभियन्ता कोविदशरण उपाध्यायले बोक्सीका नाममा हुने अमानवीय व्यवहार अन्त्य गर्न सबै तहबाट सचेतना अभिवृद्धि आवश्यक रहेको औल्याए । उनले बोक्सी कु–प्रथा उन्मूलनका लागि प्रहरी प्रशासनसँगै प्रदेश तथा स्थानीय सरकार र नागरिक समाजको संयुक्त प्रयास अपरिहार्य रहेको बताए ।

सुर्खेतमा हालै घटेको पाथिभरा माता काण्डलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमै पुगेर शिक्षा, चेतना तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो । उनका अनुसार अभियान अन्तर्गत बोक्सीसम्बन्धी कुप्रथाविरुद्ध जनचेतना फैलाउनुका साथै बोक्सीसम्बन्धी (कसुर र सजाय) ऐन, २०७२ बारे पनि सर्वसाधारणलाई जानकारी गराइएको छ ।

‘बोक्सी’का नाममा अझै हिंसा

समाजमा ‘बोक्सी’को आरोपमा बर्सेनि धेरै व्यक्ति शारीरिक तथा मानसिक प्रताडनाको सिकार हुने क्रम अझै रोकिएको छैन । कुनै बेला कथित बोक्साबोक्सीका नाममा कहालीलाग्दा हिंसात्मक घटना पनि थुप्रै हुन्थे । त्यसमा बढीजसो एकल महिला हुन्थे । बोक्साबोक्सीको आरोप लगाइएका पात्रलाई मलमूत्र खुवाउने, चारपाटा मुड्ने, जुत्ताको माला भिराउने, निर्घात कुटपिट गर्ने, गाउँनिकाला गर्नेदेखि कतिपय अवस्थामा नृशंस हत्यासम्म गर्ने अवस्था विद्यमान थियो ।

त्यसविरुद्ध अधिकारकर्मी र राज्यसंयन्त्रमा लामै छलफल चल्थे । तर यथोचित कानुनको अभावमा पीडकले उन्मुक्ति पाइरहन्थे । बोक्सीको आरोपमा अमानवीय प्रताडना भोग्नेको संख्या ठुलो भएपछि सरकारले ‘बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२’ ल्यायो ।

सो ऐनले बोक्सा वा बोक्सीको आरोपलाई ‘सामाजिक कुरीति तथा अन्धविश्वास’का रुपमा परिभाषित गर्दै ‘आरोप लगाउने, आरोपित व्यक्तिलाई क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा कुनै किसिमले यातना दिनेजस्तो अमानवीय कार्यलाई दण्डनीय बनाउन’ यो ऐन ल्याउनुपरेको व्यहोरा प्रस्तावनामा उल्लेख छ ।

ऐनले बोक्साबोक्सीको आरोपमा हिंसात्मक गतिविधिमा संलग्न हुनेलाई पहिलोपटक ६ महिनादेखि ८ वर्ष कैद सजाय र दोस्रोपटक कसुर गरे १५ वर्षसम्मको कैद सजायको व्यवस्था गरेको छ । यस्तै ५ हजार देखि ५० हजारसम्म जरिवानाको व्यवस्था पनि सो ऐनमा उल्लेख छ ।

ऐन आएपनि रोकिएन हिंसा

सरकारले ‘बोक्सीको आरोप (कसुर र सजाय) ऐन–२०७२ ऐन’ ल्याएको एग्घार वर्ष भइसकेको छ । तर यही कानुनको प्रभावमा बोक्साबोक्सीकै आरोपमा समाजमा भोगिरहेका प्रताडनाका घटना अझै घटेका छैनन् ।

अझै बर्सेनि ठुलै संख्यामा प्रायः महिलाहरु चरम दुव्र्यवहार र यातना भोगिरहन विवश छन् । सबैजसो समुदायमा बोक्सीको आरोपमा प्रायः महिलामाथि हिंसा भएको छ । शिक्षित मानिएको समाज समेत त्यसबाट अछुतो छैन । सातवटै प्रदेशमा कमबेसी संख्यामा हिंसा भएका छन् ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार
Translate »