२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

भेरीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन



सुर्खेत । छिन्चु–जाजरकोटको सडक अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बांगिरह स्थित दुर्घटनामा परी बेपत्ता गाडी तथा यात्रुको खोजीकार्य जारी राखिएको छ ।

बेपत्ता यात्रु र गाडीको खोजीको कार्यका लागि सुर्खेतबाट खटिएको सशस्त्र प्रहरी बलको गोताखोर टोली, प्रहरीको टोली र स्थानीय नागरिक संयुक्तरुपमा परिचालन भएका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ ज–३०२२ नम्बरको जिप हिजो दिउँसो भेरी नदीमा खसेको थियो ।

प्रहरी र स्थानीयको सहयोगमा दुर्घटना भएको समयदेखि नै खोजी कार्य भइरहे पनि भेरी नदीको उच्च बहाब, गहिराई र रात पर्न थालेपछि स्थगित गरिएको थियो । आज उज्यालो भएसँगै गोताखोरको सहयोगमा बेपत्ता गाडी र मानिसको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख (डीएसपी) दीपक पातलीले जानकारी दिए ।

उनका अनुसार गाडी धनी सिद्ध कुमाख गाउँपालिका–४, का २३ वर्षीय भीमबहादुर राना र चालक कुमाख गाउँपालिका–५, का २३ वर्षीय हेमराज बिसी रहेका छन् । गाडीमा सवार अन्य दुई जना भने भेरी नदीमा पौडिएर बाच्न सफल भएका थिए ।

बनगाड कुपिण्डे नगरपालिका–१, आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी पौडी खेलेर ज्यान बचाउन सफल भएका थिए ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
Translate »