

काठमाडौं । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ ।
निगमले २०८३ साल असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको भएपनि सर्वसाधारण उपभोक्ताले बजारमा सहजरुपमा ग्यास नपाएको गुनासो आएको निगमले जनाएको छ।
निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको थियो ।

त्यसरी अनावश्यकरुपमा ग्यास सिलिन्डर मौज्दात नराख्न र राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न निगमले आग्रह गरेको छ ।
निगमले आफ्नो आग्रहविपरीत कतै ग्यास सिलिन्डर अनावश्यकरुपमा मौज्दात राखेको भेटिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।











