२०८३ साउन ११ , सोमबार
Sky News Nepal
July 27, 2026

कर्णाली प्रदेश सरकार र नेपाल टेलिभिजन वीच सम्झौता



स्काई न्यूज /सुर्खेत, २५ कार्तिक ।

कर्णाली प्रदेश सरकार र नेपाल टेलिभिजनवीच ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम उत्पादन, प्रसारण गर्ने बारेमा सम्झौता भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीले स्थलगत जनताका कुरा सुन्ने र सरकारका काम काम कारवाही बारे जानकारी दिने उद्देश्यले अघि सारिएको सवालजवाफ कार्यक्रमको उत्पादन तथा प्रसारण गर्न सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी तथा नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका वीच सम्झौता भएको हो ।


मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका ग्रामीण बस्तीहरुमा पुगेर जनताका बास्तविक समस्या पहिचान गर्नुका साथै त्यसको समाधान गर्ने उद्देश्यले ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रम अघि सारिएको जनाए । उनले उक्त कार्यक्रम मार्फत विकासका गतिविधि, अनियमितता, ढिलासुस्ती जस्ता समस्याहरु जनताबाट प्रत्यक्ष जानकारी लिएर समाधान खोजिने उद्देश्य रहेको बताए । यता नेपाल टेलिभिजन कोहलपुर एवं न्यूज च्यानल काठमाडौंबाट प्रसारण हुने उक्त कार्यक्रम प्रदेशका दशै ओटै जिल्लामा पुगेर उत्पादन गरिने कोहलपुर प्रसारण केन्द्रका प्रमुख विजय वर्माले बताए । उनले ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको समन्वयकारी भूमिका अपरिहार्य रहेको औल्याए ।


कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् प्रशासन तथा बैठक महाशाखाका सचिव बालाराम शर्मा, शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव लक्ष्मीकुमारी बस्नेत, कानून तथा संबैधानिक मामिला महाशाखाका सचिव बलसागर गिरीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ कात्तिक २५ गते सोमबार
Translate »