२०८३ साउन २६ , मंगलबार
Sky News Nepal
August 11, 2026

सुर्खेतमा मौसमको जानकारी दिने राडार सञ्चालन

नेपालमै पहिलो पटक 


स्काई न्यूज /मंसिर १७, सुर्खेत ।
सुर्खेतमा जडान गरिएको आधुनिक मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) को उद्घाटन गरिएको छ । सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री पुनले जोखिमको सम्भावना पुग्न सक्ने क्षतिका बारेमा जानकारी राडारले दिने भएकाले यसको सदुपयोगले जोखिम व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले राडारले दिने सूचना हरेक नागरिकसम्म पुग्ने गरि व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई निर्देशन दिए । ‘पहिले मानिसहरु आकाश हेरेर मौसमबारे जानकारी लिन्थे, अब सबै जानकारी सिस्टममार्फत् नै हुने भयो,’ उनले भने, ‘बरु यसले दिने सूचनाहरु जनताको कानसम्म सहजै पुग्ने वातावरण मिलाउनु जरुरी छ ।’ उनले राडारबाट मौसमसम्बन्धी समयमै सही सूचना सहज रुपमा प्राप्त हुने भएकाले उड्यन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप ( बाढी, पहिरो आदि घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको राडार मौसमको पूर्व सूचना दिने अहिलेसम्मकै आधुनिक प्रविधि रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित सुर्खेतमा मौसमी अत्याधुनिक प्रविधिमा आधारित राडर स्थापना गरिएको हो । २०७५ कात्तिक १४ गते निर्माण सम्पन्न भएको राडार विभिन्न अन्यौलका कारण सञ्चालनमा आउन सकेको थिएन । यसअघि यसबाट लिइने जानकारी अमेरिकामा रहेको इन्टरप्राइज इलेक्ट्रोनिक्स कोअपरेसन (सिइसी)ले संकलन गर्दै आएको थियो । सोही कम्पनीसँगको सम्झौतामा नेपालमा राडार जडान गर्ने प्रक्रिया चलेको हो । अब सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाडौंबाट संकलन गरिनेछ । संकलित सूचना प्रवाह तथा अन्य विषयमा समन्वय भने सुर्खेतमा रहेको जल तथा मौसम विज्ञान कार्यालयले गर्ने छ । सुर्खेतमा जडान गरिएको राडारको क्षमता चार सय किलोमिटर वरपरसम्मको मौसमको बारेमा जानकारी दिन सक्ने रहेको छ । जल तथा मौसम विज्ञान विभागले नेपालका तीन ठाउँमा राख्न प्रस्ताव गरेको मौसमसम्बन्धी सूचना दिने प्रणाली मध्येको एक सुर्खेतमा जडान गरिएको यो नै पहिलो हो ।


मौसम विभागकी प्रवक्ता अर्चना श्रेष्ठले नेपालमा हालसम्म अनुमानित मौसमी विश्लेषण हुँदै आएकोमा राडारबाट वास्तविक सूचना पाउन सकिने बताईन् । ‘यसले पानी पर्छ कि पर्दैन परेमा कति ठूलो पर्छ, असिना पर्छ कि पर्दैन, हुरीबतास, चक्रवात् आउँछ कि आउँदै भन्ने कुराको पहिल्यै जानकारी दिन्छ,’ ‘तर यो नेपालमा पहिलोपटक भित्र्याइएको प्रविधि हो, त्यसैले यसलाई पूर्ण प्रयोगमा ल्याउने अझै थुप्रै अनुसन्धान र अभ्यास आवश्यक छ ।’ उनका अनुसार सुर्खेतमा राखिएको राडार नेपालको पश्चिमी क्षेत्रको मौसमी जानकारी पाउनाका लागि हो । यसैगरी मध्य क्षेत्रका लागि पाल्पा तथा पूर्वी क्षेत्रका लागि उदयपुरमा पनि मौसमी राडार राख्ने तयारी भइरहेको छ । ‘अहिले सुर्खेतमा राखिएको राडारले नेपालको पश्चिमी क्षेत्रको मौसमी अवस्था मात्रै समेट्न सक्छ,’ उनले भनिन्, ‘पाल्पा र उदयपुरमा राखिएपछि पूरै नेपालको मौसमी जानकारी कभर गर्न सकिन्छ ।’ त्यसका लागि अहिले सामान ल्याउने क्रम चलिरहेको उनले जानकारी दिइन् । ‘यो अलि महँगो खालको प्रविधि, भौतिक पूर्वाधारहरु पनि तयारी गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘तीनवटै क्षेत्रमा राडार सञ्चालन गर्न अझै करिब एक वर्ष जति लाग्ने छ ।’ विश्व बैंकको सहयोगमा १७ करोड रुपैयाँ लागतमा जडान गरिएको सुर्खेतको मौसमी राडारले कर्णाली प्रदेशसँगै सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशभित्र पर्ने ४ सय किलोमिटर दूरीसम्मको मौसमको पूर्वसूचना दिनेछ ।


के हो राडार  ?
राडार मौसमसम्बन्धी जानकारी दिने विद्युतीय प्रणाली हो । जल तथा मौसम विज्ञान विभागले नेपालका तीन ठाउँमा राख्न प्रस्ताव गरेको मौसमसम्बन्धी सूचना दिने प्रणाली मध्येको सुर्खेतमा जडान गरिएको यो राडार पहिलो चरणको हो । राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बर्हिभावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्छ । राडारले आकाशमा वायुमण्डल वरिपरि घुमेर तस्बिर खिच्छ । पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भूभागमा वास्तविक समयमा तस्बिर खिचेर पठाउँछ । त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ ? पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ । प्रवक्ता श्रेष्ठका अनुसार राडारले वास्तविक अनुमान गर्छ । यसले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ । उदाहरणका लागि कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन् । असिना पर्ने बादल हो कि त्यो सूचना दिन्छ । त्यसका आधारमा मौसम विभागले केही घण्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ । यो जाडो मौसममा हिउँ कति पर्छ, हुस्सु, शीतलहरको अवस्था कस्तो छ भन्ने जानकारी यस राडारले दिने छ ।

प्रकाशित मिति : २०७६ मंसिर १७ गते मंगलबार
Translate »