कर्णालीको अर्को विकृति ‘बालविवाह’


स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ । बालविवाहको समस्या देशभरी भएपनि कर्णालीमा अलि बढी भएको देखिन्छ । शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा बालविवाह बढी पाइन्छ । कर्णाली प्रदेशमा १८ वर्ष नपुग्दै विवाह गर्ने बालबालिकाको अवस्था पर्ने दर्दनाक छ । कर्णाली प्रदेशभर ३७.९ प्रतिशतले बालविवाह दर रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ । बालविवाह रोक्न कर्णालीमा दर्जनौ संघसंस्थाहरु सक्रियरुपमा लागेपनि पर्याप्त हुन सकेको छैन् । यो तथ्यांक हेर्दा सरकारी तथा गैरसरकारी संघसंस्थाको बालविवाहका लागि भएको भनिएको मेहनत खेर गएको प्रष्ट देखाउछ । कर्णालीको जिल्लागत तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै बालविवाह सल्यानमा हुने गरेको छ । सल्यानमा उमेर नपुग्दै ४३ प्रतिशतले बालविवाह गर्ने गरेका छन् ।

यो स्थानीय सरकारले मात्र होइन, प्रदेश सरकारले समेत सचेतना फैलाउनु पर्ने देखिन्छ । सल्यानपछि धेरै बालविवाह हुने जिल्ला रुकुमपश्चिम परेको छ । रुकुमपश्चिममा ४२.३ प्रतिशतले बालविवाह गर्ने गरेको जनगणनाको तथ्यांकले देखाउछ । जाजरकोटमा ४०.८, सुर्खेतमा ३८.७, मुगुमा ३५.९, डोल्पामा ३२.१, हुम्लामा ३३.७, जुम्लामा ३४.७, दैलेखमा ३५.२ र कालिकोटमा २८.१ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । कर्णालीमा बालविवाहको दर, वासस्थान, भौगोलिक क्षेत्र, शैक्षिक अवस्था, घरपरिवारको आम्दानीको स्तर, जातजातिको आधारमा फरक–फरक रहेको तथ्यांकले देखाएको छ । कर्णालीका ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी देखिएको छ । कतिपय सामाजिक तथा धार्मिक विश्वासका आधारमा बालविवाहलाई मान्यता पनि दिने गरिएको जनगणनाको तथ्यांकमा उल्लेख छ । कर्णालीमा बालविवाह बढी हुनुमा अशिक्षा र जनचेतनाको कमी नै हो । बढ्दै गएको बालविवाहको ग्राफ घटाउनका लागि जनचेतनाको अभियानलाई तीनै तहका सरकारले घरपरिवार, विद्यालय तथा समाजिकस्तरमा व्यापक बनाएर लैजानु पर्ने देखिन्छ । कर्णालीमा छोरीलाई आत्मनिर्भर बनाउनुभन्दा कहिले विवाह गरिदिउँला भनेर दिन गन्दै चलनको अन्त्य गर्नु पर्छ ।
अब छोरीलाई पढाउनुपर्छ, उसले पनि नाम कमाउँछे त्यसैले आफ्नो खुट्टामा उभिन दिनुपर्छ भन्ने कुरा सहरीसँगै ग्रामीण क्षेत्रमा फैलाउन जरुरी देखिन्छ । तर, बालविवाहले सामाजिक रूपमा निम्तिने समस्याको लेखाजोखाचाहिँ हुन सकेको छैन । गरिबीका कारण धेरै छोरीहरुको विवाह उमेर नपुग्दै गरिदिने चलन कर्णालीमा अलि बढि देखिन्छ । बालविवाह गर्नु हुँदैन, छोरीलाई पनि उसले चाहेजति बढाउनुपर्छ भनेर गैरसरकारी संस्थाहरुले कर्णालीका दुर्गम भेगमा अभियान चलाएको धेरै समयअघि देखि भएपनि त्यस्ता अभियानले गरिबीलाई सम्बोधन गर्न सकेको छैन् । नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकअनुसार कर्णालीमा किशोरी उमेरमा गर्भधारण गर्नेको प्रतिशत २१ छ । मानव विकास प्रतिवेदन, २०२० अनुसार कर्णाली सामाजिक र आर्थिक दुवै सूचांकमा कमजोर देखिएको छ । मानव विकास सूचांकमा कर्णालीको ०.५३८ छ भने प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर रहेको छ । त्यसो त नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौं स्थानमा पर्दछ । दक्षिण एसियाली मुलुक मध्ये नेपालको बालविवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी छ । अब बालविवाह अन्त्यका लागि प्रदेशसँगै स्थानीय सरकारहरु अझ बढी सचेत र सजग हुन जरुरी देखिन्छ ।

