२०८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्छौं : प्रचण्ड


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’

उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए ।
प्रचण्डले भने, ‘१८ महिना सरकारको नेतृत्व गर्यौं । हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौं । हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौं । पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए । रासस

