२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 17, 2026

मोहम्मद ‘डे’ धुमधामले मनाइँदै



बाँके । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औँ जन्मोत्सव मुस्लिम समुदाय धुमधुमकासाथ मनाइरहेका छन् ।

नेपालमा रहेका मुस्लिमसमुदायहरु उल्लासमय तरिकाले मोहम्मद डे मनाइरहेका छन् । बाँकेको नेपालगन्जमा र सुर्खेतको वीरेन्द्रनगरमा पनि मुस्लिम समुदायले मोहम्मद डे हर्षोल्लासका साथ मनाइरहँदा रौनक बेग्लै किसिमको बनेको छ ।

नेपालगन्जका मुस्लिम समुदायले सोमबार र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, पैगम्बर मोहम्मदको उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एक अर्कामा शुभकामना साटासाट गर्ने जस्ता क्रियाकलाप गर्ने चलन रहेको मुस्लिम धर्म गुरु एवं मदरसा परिषद्का पूर्व उपाध्यक्ष मौलाना मन्सुर आरफीले बताए ।

मोहम्मद डेको अवसरमा नेपालगन्ज बजारलाई झिलिमिली बनाइएको छ । मौलाना आरफस्ले संविधानको दायरामा रहेर सबै धर्मावलम्बीले आ–आफ्नो धार्मिक स्वतन्त्रताको प्रयोग गर्न पाउने भन्दै धर्म र सामाजिक सद्भाव विरोधी क्रियाकलापमा नलाग्न सचेत गराए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विभिन्न धर्मावलम्बी, जातजाति र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरूले सामाजिक सद्भाव कायम राख्न सदियौँदेखि प्रदर्शन गरेको एकतालाई कायम राख्न अपिल गरे ।

उनले विभिन्न धर्म, सम्प्रदाय र जातिका नाममा पछिल्लो समय भइरहेका गलत गतिविधिलाई निरुत्साहित गर्ने दायित्व सबैको भएको बताउँदै उनले नेपालको संविधानले कायम गरेको धर्मनिरपेक्षताको मर्म र एकै स्थानमा मिलेर बसेको नेपाली समाजलाई कुनै पनि नाममा भड्काउने काम नगर्न अपिल गरे ।

नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन कादरीले हिंसा, अशान्ति र गलत काम सबै धर्मले बर्जित गरेको भन्दै इस्लाम धर्मावलम्बीको विशेष पर्व मोहम्मद डे का अवसरमा सबैले सामाजिक एकताको सकंल्प गर्नुपर्ने जिकिर गरे । उनले धर्म, जातजाति, धनी, गरिब, फरक लिङ्गलगायत कुनै पनि आधारमा कसैले पनि विभेद गर्न नपाइने बताए ।

 

 

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार
Translate »