मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले व्यवसायी प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला अदालतका सूचना अधिकरी मेलिस बास्कोटाका अनुसार उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको हो ।

झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएको थियो । त्यसैको आधारमा प्रहरी जिल्ला अदालत गएको थियो । जिल्ला अदालतले आज प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंसहित २ युट्युबरविरुद्ध पनि पक्राउ पूर्जी जारी भएकाे छ । बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।

प्रसाईंकाे नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले गत वर्षकाे मंसिरमा राजतन्त्र फर्काउनेलगायत अजेन्डासहित बल्खुमा प्रदर्शन गरेकाे थियाे । उनले बेलाबेलामा विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

पछिल्लो समय उनी ‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु हुँदैन, बैंकर र व्यवसायी ठग हुन्’ भन्ने लगायतका सामाजिक विचलन ल्याउने किसिमका अभिव्यक्ति दिँदै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई पक्राउ गर्न पनि चुनौती दिँदै आएका छन् ।

Translate »