आत्महत्या रोक्नका लागि पालिकाले नीति बनाउने


बाँके । नेपालमा आत्महत्या गर्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगन्जमा आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धि सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूसँगको प्रदेश स्तरीय अन्तरक्रियामा कार्यक्रममा विभागका नसर्ने रोग प्रमुख डा. पूमावती थापाले गएको आर्थिक वर्ष २०८०र०८१ मा नेपालमा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गरेकी थिइन ।
अघिल्लो आर्थिक वर्ष २०७९र०८० मा छ हजार ९९३ जनाले आत्महत्या गरेका थिए । यो सङ्ख्या २२३ ले बढी हो । यो हिसाबले हेर्दा नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । आत्महत्याका विभिन्न कारणहरूमध्ये मनोसामाजिक, सामाजिक तथा आर्थिक अभाव प्रमुख देखिएको डा. थापाको भनाई थियो ।

मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीले आत्महत्या गर्नुको कारण चरम निराशा पनि एक भएको बताए । व्यक्तिलाई आत्महत्याबाट रोक्न उसले देखाउने पूर्व सङ्केतको पहिचान गरेर उचित परामर्श गर्न सके आत्महत्या रोक्न सक्ने डा. कार्कीको भनाई थियो ।
पछिल्लो समय मानसिक समस्या र नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि तीनै तहका सरकारले योजना बनाउन आवश्यक रहेको कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीको सुझाव थियो । अन्तरक्रिया कार्यक्रमलाई बोल्दै नेपालगन्जका उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आत्महत्या रोकथामका लागि नीति नै बनाएर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले मानसिक स्वास्थ्य समस्या समाधानका लागि परामर्श सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । प्रहरीले मात्रै आत्महत्या रोकथाम गर्न नसक्ने बताउँदै मेयर बिष्टले परिवार र समाजको पनि भूमिका जरुरी रहेको औल्याए । उल्लेख गर्नु भयो । अन्तरक्रियामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बद्ध सरोकारवालाहरूको सहभागिता रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले जानकारी दिए ।


