भारतीय वन रक्षकले गोली चलाउँदा एक नेपाली घाइते


बर्दिया । बर्दियाको गुलरियामा भारतीय वन रक्षकले गोली चलाउँदा एक नेपाली घाइते भएका छन् ।
बर्दियाको नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका गुलरिया नगरपालिका वडा नं ८ नारायण टोलका ४५ वर्षीय बलाराम लोध घाइते हुनुभएको छ । भारतीय सीमा नजिकको आफ्नो खेतमा काम गरिरहेको समयमा वन रक्षकले सीमा पारीबाट गोली चलाएका हुन् ।

गएराती करिब सात बजेको समयमा लोधलाई गोली लागेको उनका भाइ बाँकेलाल लोधले बताए । उनले भने, ‘हाम्रो खेत ६२ नम्बर पिलरनीर रहेको छ, खेतमा जङ्गली जनावर आएर धानबाली खाइदिने भएकोले दाइ खेतमा जानुभएको थियो । सोही समयमा भारतीय वन रक्षकले गोली हानेका हुन् ।’
घाइते लोधलाई गोली लागेपछि तत्काल बर्दिया अस्पताल ल्याइएको थियो । बर्दिया अस्पतालका अनुसार लोधको एक्सरे गर्दा करिब १५ वटा गोलीको छर्रा भएको पत्ता लागेको छ । उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
घटनाको बारेमा थप सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ऋषिराम घर्ती मगरले बताए । यस अघि पनि केही वर्ष अगाडि आशापुर कै एक जनालाई भारतीय वन रक्षकले गोली हानी पक्राउ गरी बेपत्ता पारेका थिए । उनको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन ।

