जीउ मास्ने–बेच्ने मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

सुर्खेत । जीउ मास्ने–बेच्ने मुद्दाका फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले गुटुबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय गुटुबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार जिल्लाको चौकुने गाउँपालिका–७, का ६१ वर्षिय भक्तबहादुर बिष्टलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिवादी बिष्टले २०५७ साल असोज १ गते विवाहको प्रलोभन दिएर सुर्खेत जिल्ला साविक गुटु गाउँविकास समिति–८, घर भएकी २१ वर्षिया नामसरा देवी कँडेललाई भारतको गोरखपुरमा लगेर अपरिचित भारतिय नागरिकलाई १५ हजारमा बेचेको आरोप थियो ।

त्यसपछि नामसरा देवीका आफन्तले प्रतिवादी बिष्टका नाममा २०५८ साल मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्तापछि फरार प्रतिवादी बिष्टलाई खोजतलास गर्ने क्रममा २४ वर्षपछि पक्राउ गरी थप आवश्यक अनुसन्धान कार्य शुरु गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

Translate »