२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

आफ्नै सहकर्मीको हत्या आरोपमा दुई जना पक्राउ



कपिलवस्तु । आफूहरुलाई नेकपा माओवादी (महावीर समूह) को नेता–कार्यकर्ता बताउने समूहबीच चन्दा हिनामिना गरिएको विषयमा विवाद हुँदा एक जनाको बीभत्स हत्या गरिएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको सुदूरपश्चिम क्षेत्रमा डर धम्की दिई चन्दा आतंक मच्याउँदै आएका उनीहरूले चन्दाको रकम हिनामिना गरेको विषयमा विवाद हुँदा आफ्नै सहकर्मीको हत्या गरेको प्रहरीले जनाएको छ।

विजयनगर गाउँपालिका–२ खडैचा भैंसीघाट, चिरइखोला किनारमा गत ४ कात्तिक राति साढे ८ बजे एक जना पुरुषको शव फेला परेको थियो । उक्त शव कपिलवस्तु नगरपालिका–१० तेनुवाका ४५ वर्षीय दिनेश भन्ने जयप्रकाश यादवको रहेको खुलेको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अनुहार सुन्निएर चिन्न नसकिने भएको, टाउको, घाँटी र शरीरमा चोटकपटक लागेको र शव सुन्निएर दुर्गन्ध आउन लागेकाले पहिचान खुल्न निकै गाह्रो भएको डीएसपी मोहनमणी अधिकारीले बताए ।

‘मृतकको घर र श्रीमतीसँग पनि राम्रो सम्बन्ध नहुँदा अलग्गै बस्दै आएका रहेछन्,’ डीएसी अधिकारीले भने, ‘यसले पनि उनको पहिचान खुल्न समय लाग्यो ।’ कार्तिक २ गते हत्या गरिएको उनको शव ४ दिनपछि बिहीवार पहिचान भएको हो ।

दिनेश नेकपा माओवादी ९महावीर समूह० कपिलवस्तुको विजयनगर गाउँपालिकाको इन्चार्ज भएको खुलेको छ । नेत्रविक्रम चन्द समूहबाट अगल भएको धर्मेन्द्र बास्तोला समूहबाट छुट्टिएर महावीर समूह बनाएको उनीहरूले बताएका छन् ।हत्या आरोपमा उक्त समूहका जिल्ला सेक्रेटरी भूमि भनिने ओखलढुंगा चिशंखुगढी गाउँपालिका–५, सेरेनाका ४७ वर्षीय रमेश श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै उक्त समूहकी महिला विभागकी प्रमुख गीता भन्ने कपिलवस्तुको वाणगंगा नगरपालिका–२, तिनैयाकी ४६ वर्षीया मनकला थारु पनि पक्राउ परेकी छन् ।

घटनाको मुख्य योजनाकार श्रेष्ठ रहेको र हत्यामा प्रयोग भएका हतियार ल्याउने र लुकाउने कार्यमा मनकलाको संलग्नता देखिएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक निरन्जनदत्त भट्टले बताए । चन्दा संकलन गरेको रकमको हिसाबकिताब दिन इन्कार गरेकाले समूहको केन्द्रीय निर्देशन अनुसार नै यादवको हत्या गरेको पक्राउ परेका दुवै जनाले प्रहरीसमक्ष बयान दिएको उनीहरूको भनाइ उद्धृत गर्दै उपरिक्षक भट्टले बताए । मृतक यादवको घाँटीमा दाउ, चक्कु प्रहार र सिमेन्टको पोलले प्रहार गरी हत्या गरेर शव बालुवामा खाल्डो खनेर पुरेको प्रहरीले जनाएको छ ।शव उत्खनन गरेर प्रहरीले सुरुमा मृतकको पहिचान गर्ने प्रयास थालेको थियो । पछि शवको सनाखत भएसँगै अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

घटनाको एक सातापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । (ई–कान्तिपुर)

प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार
Translate »