पुष्प व्यवसायीबाट सिजनमै पाँच लाख कमाउँदै कोहलपुरकी विष्णु चौधरी

बाँके । कोहलपुरकी विष्णु चौधरीले पुष्प खेती व्यवसायमा प्रवेश गरेर सिजनमै पाँच लाख रुपैयाँ कमाउँदै जिल्लाकै उत्कृष्ट पुष्प व्यवसायीको रुपमा परिचय बनाएकी छन् । कोहलपुरकी पहिलो महिला पुष्प उत्पादकका रूपमा स्थापित विष्णु, नेपाली विषयमा डिग्री गरेकी छन् । उनले कहिल्यै व्यवसाय गर्छु भनेर सोचेकी थिईनन् । तर, पुष्प खेती सङ्गै व्यवसाय क्षेत्रमा रहरले प्रवेश गरेपछि अहिले भने यसलाई मुख्य आम्दानीको स्रोत बनाएकी छन् । उनले भनिन् ‘पहिलो पटक सफल भएपछि पुष्प व्यवसाय र पुष्प खेतीप्रति आत्मविश्वास जाग्यो ।’

सुरुवाती समयमा कीरा लागेर फूलमा केही नोक्सानी भए पनि विष्णुले पहिलो वर्षमै एक लाख रुपैयाँ बढीको कमाइ गरिन् । यस आत्मविश्वासले प्रेरित भएर उनले अर्को नर्सरी थपिन्। दशैं–तिहार र विवाहको सिजनमा सयपत्री, मखमली, र गोदावरी जस्ता फूल उत्पादन गर्नुहुन्छ, जसले गर्दा एक सिजनमै पाँच लाख रुपैयाँ बढीको आम्दानी हुन थालेको छ।

कोहलपुर नगरपालिकाको सहयोगले विष्णु जस्तै अन्य पुष्प व्यवसायीको व्यवसायलाई थप उचाइमा पु¥याएको छ। नगरपालिकाले रेडिमेट खादाँ बहिष्कार गरेपछि कार्यक्रमहरूमा बाह्य फूल प्रयोग निषेध गरियो। यसले विष्णुको नर्सरीलाई प्रमुख विकल्प बनाएको छ। उनले भनिन्, ‘कहिलेकाहीँ यति धेरै माग आउँछ कि पूरा गर्न नेपालगञ्जबाट फूल मगाउनुपर्छ।’ विष्णुलाई विश्वास छ कि नगरपालिकाले यो निर्णय पूरै कार्यान्वयन गरे स्थानीय उत्पादनको प्रवर्द्धनमा थप सहयोग पुग्नेछ। नगरपालिकाले पुष्प खेतीलाई स्थानीय ब्रान्डको रूपमा स्थापित गर्न विष्णुलाई प्रत्यक्ष सहयोग गरिरहेको छ। सिँचाइ र बिउ बिजनका लागि कृषि शाखाले १ लाख ५० हजार सहयोग दिएको थियो भने नर्सरी विस्तारका लागि ५० हजार थप सहयोग प्रदान गरेको छ।

७ कट्ठा जमिनमा फूल खेती गर्दै अहिले प्रतिकिलो ५ सय रुपैयाँको दरले फूल बिक्री गर्छिन् भने, एक माला १२० रुपैयाँमा बिक्री हुन्छ। पुष्प खेतीले उनलाई आत्मनिर्भर बनाउनुका साथै अन्य महिलाहरूलाई पनि प्रेरित गरिरहेको छ। (रेडियो नेपाल)

Translate »