वर्तमान सरकार आगामी २०८४ को चुनावसम्मै रहन्छ : काँग्रेस प्रवक्ता महत


सुर्खेत । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशरण महतले देशको राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण गरेर काँग्रेस–एमालेको गठबन्धन सरकार बनाउनु परेको बताएका छन् ।
उपनिर्वाचनको प्रचारप्रसारका लागि कर्णालीका विभिन्न जिल्लाहरुको दौडाहामा रहनु भएका काँग्रेस प्रवक्ता महतले आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रको अस्थिर प्रवृत्तिका कारण दुई ठुला पार्टी मिल्ने विशिष्ट परिस्थिति बनेको जनाएका हुन् ।
उनले माओवादीको महिना–महिनामा समिकरण बदल्ने अस्थिर प्रवृत्ति रहेको भन्दै अब देशलाई स्थायित्व दिन वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार आगामी २०८४ को चुनावसम्मै रहने बताए । केही चुनौति र असहजताका वावजुद पनि वर्तमान सरकारले जनताको पक्षमा राम्रो काम गरिरहेको दाबी गर्दै उनले अहिलेको निर्वाचन प्रणालीलाई बदल्नेगरी संविधान संशोधन गर्न विभिन्न दलहरु वीच छलफल भइरहेको जानकारी दिए ।


सरकार निर्माणको बेला भएका सहमतीअनुसार नै सरकार अगाडि बढीरहेको भन्दै अहिलेको उपनिर्वाचनमा अधिकांस ठाउँमा काँग्रेसले जित्ने उनले दाबी गरे ।
सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै महतले प्रतिशोध साधेर पक्राउ गरिएको भन्ने प्रचार गलत रहेको जनाए । द्वन्द्वकालमा माओवादीले काँग्रेस कार्यकर्तालाई दुख दिँदा त हामीले प्रतिशोधको राजनीति नगरेको भन्दै रवि लामिछानेविरुद्ध प्रतिशोध साध्नुपर्ने कुनै कारण नरहेको बताए ।
सहकारी अपचलनमा जोडिएका रबि लामिछानेको मुद्धा अदालतमा गइसकेकाले हुलहुज्जत गर्न नहुनेमा जोड दिँदै अदालतप्रति सबैले विश्वास राख्नुपर्नेमा महतले जोड दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण बोर सोधिएको प्रश्नमा कुन देशमा पहिले भ्रमण गर्ने भन्ने कुरा त्यती ठुलो नभएको बताउँदै उनले यसअघि अमेरिकामा भारतका प्रधानमन्त्रीसँग महत्वपूर्ण भेट भइसकेकाले चीनबाट पहिले भ्रमणको निम्तो आएको हुँदा प्रधानमन्त्री ज्यू त्यहाँ जान लाग्नु भएको जनाए । उनका अनुसार वीआरआई ऋणमा होइन, अनुदानमा हुनुपर्छ भन्नेमा पनि नेपाली काँग्रेसको प्रष्ट धाराणा छ ।


