२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

जयेन्दु बाल सुधार गृहमा २ सय ७० जना बालकहरूको स्वास्थ्य परिक्षण



बाँके । बाँकेस्थित जयेन्दु बाल सुधार गृहमा रहेका कानूनी विवादमा रहेका बालकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ ।

एडभोकेसी फोरम नेपालले जिल्ला बाल न्याय समिति, बाँके जिल्ला अदालत र भेरी अस्पतालसँगको सहकार्यमा जयेन्दु बाल सुधार गृहमा निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको हो ।

शिविरबाट २ सय ७० जनाले स्वास्थ्य सेवा पाएको आयोजक संस्था एडभोकेसी फोरम नेपालका संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग विशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पतालको टोलीले उपचार गरेको हो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, इक्जीमा, धमौरा, फङ्गल इन्फेक्सन, किराको एलर्जी, डण्डीफोर, छालामा ब्याक्टेरियल इन्फेक्सनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले बताए।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बालबन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा समाजमा पुनर्स्थापना हुनु सहज हुने बताएका थिए।

बाल सुधार गृहका इन्चार्ज बिमला काउचा मगरले सुधार गृहका बालकहरूलाई आफूले छोराको रूपमा हेरेको भन्दै बालकहरूले पनि असल आचरण राख्नु पर्नेमा जोड दिए।

प्रकाशित मिति : २०८१ मंसिर ६ गते बिहीबार
Translate »