दोस्रो पञ्चवर्षिय योजनाका दस्तावेज नफेरिने गरी तयार हुँदैछ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल प्रदेशको दोस्रो पञ्चवर्षिय योजनाका दस्तावेजले अक्षरत मूर्तरुप पाउने गरी नीतिगत आधारहरु तयार गर्न लागिएको बताएका छन् ।

कर्णाली प्रदेश योजना आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले सरकार फेरिएपनि दोस्रो पञ्चवर्षिय दस्तावेज नफेरिने गरी प्रदेशको नीति, कार्यक्रम तथा बजेटको प्रतिविम्ब तयार गर्न लागिएको जानकारी दिए ।

उनले सरकार र सत्ता साझेदार पार्टी बद्लिए पनि नीति नबद्ल्ने गरी दोस्रो पञ्चवर्षीय योजनाको तर्जुमा गर्न लागिएको बताए । थप छलफलपछि पारित हुने दोस्रो पञ्चवर्षीय योजनालाई प्रदेश सरकारको मार्गदर्शन दस्ताबेजका रुपमा ग्रहण गरिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवबिक्रम शाहले प्रदेशको मुख्य समस्या भनेकै आन्तरिक राजश्वमा कम हुनु र संघ सरकारको अनुदानमा भरपर्नुपर्ने बाध्यताले आम नागरिकले सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको बताए । प्रदेशको आन्तरिक आम्दानी अहिले पनि ५४ करोड मात्रै भएको जनाउँदै मन्त्री शाहले राजश्वमा वृद्धि ल्याउने उद्देश्यले दोस्रो पञ्चवर्षिय योजना मार्फत नीतिगत आधार तयार गर्न लागिएको जनाए ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले योजना तर्जुमा आधार, विधि तथा प्रक्रिया, प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि, दोस्रो प्रादेशिक योजनाको प्रारुप, सोच, लक्ष्य, उद्देश्य तथा रणनीति, योजनाका प्रमुख क्षेत्र तथा विषयहरु, प्रादेशिक अर्थतन्त्र र लगानी प्रक्षेपण, विषयगत क्षेत्रको रणनीति र क्षेत्रगत कार्यक्रमलगायतका विषय प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा विश्वविद्यालय तथा आर्थिक क्षेत्रका जानकारहरुले कर्णालीको विकासका लागि ‘कर्णाली मोडल’ तयार गरी स्थानीय उत्पादनमा आधारित उद्योग धन्दाहरुको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

Translate »