२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

घुम्न जाऔँ बर्दिया अभियान सुरु



गुलरिया । बर्दियाको पर्यटन प्रचार प्रसारको लागि घुम्न जाओैं बर्दिया अभियान आज देखि सुरु भएको छ ।

जिल्ला भरिका पर्यटकीय क्षेत्र, स्थानीय कला संस्कृतिको बारेमा प्रचार प्रसार गर्ने उद्देश्यले अभियान सुरु भएको हो । पर्यापर्यटनको विकास गरि अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको वेतहीनमा रहेको सांस्कृतिक डबलीमा विशेष कार्यक्रमको आयोजना गरि उद्घाटन गरिने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले बताए ।

लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा घुम्न जाओैं बर्दिया कार्यक्रमको उद्घाटन हुने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । बर्दियाको मुख्य पर्यटकीय केन्द्र बर्दिया राष्ट्रिय निकुञ्ज सँग सँगै जिल्ला कै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाओैं बर्दिया कार्यक्रम आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताए । अभियानले बर्दियाको समग्र पर्यापर्यटनमा टेवा पुग्ने मेयर लम्सालको आशा छ ।

पर्यापर्यटनको क्षेत्रमा प्रचुर सम्भावना भएर पनि राष्ट्रिय नीति र बजेट विनियोजनका हिसाबले यो क्षेत्रले स्थान पाउन नसकेको पर्यटन व्यवसायीको गुनासो छ । देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा एकै दिनमा बाघ, गैँडा र जंगलीहात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ । तर प्रचार प्रसारको अभावमा तुलनात्मक रुपमा बर्दिया घुम्न आउने पर्यटक कम रहेका छन् ।

‘घुम्न जाओैं बर्दिया’ कार्यक्रमको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज गर्नुहुनेछ । यस्तै सङ्घीय पर्यटन मन्त्री, सात वटै प्रदेशका पर्यटन मन्त्रीहरू एवं विशिष्ट व्यक्तित्वहरू, जिल्लास्तरीय अधिकारीहरू, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

 

प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार
Translate »