भारत लैजान लागेका तीन बालबालिकाको उद्दार


बर्दिया । भारत तर्फ लैजाँदै गरेका तीन बालबालिकालाई प्रहरीले उद्दार गरेको छ। मङ्गलवार राती प्रहरीले गुलरिया नगरपालिका–७, भन्सार रोडबाट उद्दार गरेको हो ।
उद्दार गरिएका बालबालिकामा रोल्पा उपरकोटका १५ वर्षीय बालिका रोल्पा खाराकी १३ वर्षीय बालिका रहेका छन् भने दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक रहेका छन् । उनीहरुका परिवार प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

नेपाली बालबालिका लैजाँदै गरेका भारत उत्तर प्रदेश बहराइच जिल्लाका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सोही ठाउँकी ७४ बर्सिया लेडी महत, उनका छोरा ३४ वर्षीय हिरालाल महत, बुहारी २६ वर्षीय ज्ञानकुमारी महतलाई नियन्त्रणमा लिएको हो । त्यसै गरी उत्तरप्रदेश अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराईचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए । उनीहरुको साथमा काखे बालक पनि साथमा रहेका छन् ।
प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिएका उनीहरू दाङको घोराही बजारमा गमलाको काम गर्दे आएको खुलेको प्रहरीले जनाएको छ। पहिलेदेखि नै भारतीय नागरिकसँग नेपाली बालबालिका बस्दै आएको खुलेको भएपनि भारतमा कुन प्रयोजनका लागि लैजान खोजिएको भन्ने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । उनले सम्बन्धित जिल्लामा बालबालिकाको आफन्तहरुसँग सम्पर्क गर्ने प्रयास भइरहेको जनाए ।

