सुर्खेतमा इजाजतप्राप्त हतियार बुझाउन अटेरी

सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन दिएको निर्देशन धेरैले बेवास्ता गरेका छन् ।

तोकिएको समयभित्र १७४ थान इजाजतप्राप्त हतियारमध्ये ८ थानमात्रै जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले १५ दिने सूचना जारी गर्दै माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो ।

सूचना जारी भएपछि बाह्रबोर–५, थान, सोह्रबोर–१ थान, भ्यागनम–१ थान र बाईस हरनेट–१ थान हतियार प्रहरीसमक्ष बुझाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गिता बरै मगरले जानकारी दिईन् । उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएका हातहतियारको संख्या १ सय ७४ वटा  छन् ।

ती मध्य १ सय ५९ वटा व्यक्तिको नाममा र १५ वटा बैंक तथा वित्तिय संस्थाको नाममा रहेका छन् । इजाजत प्राप्त हातहितयार मध्य धेरै जसो २०५३ सालदेखि नविकरण नहुँदा स्वतः खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कविलाल विसीका अनुसार हतियार नबुझाउनेका हकमा अब जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्नेछ ।

हरेक निर्वाचनमा सुरक्षा जोखिम न्यूनीकरणका लागि हतियार खरखजाना ऐन २०१९ अनुसार इजाजतप्राप्त हतियार अस्थायी रुपमा प्रहरीमा बुझाउने प्रावधान छ । निर्वाचन सकिएलगत्तै सम्बन्धित व्यक्तिले आफ्नो हतियार फिर्ता लैजान पाउँछन् ।

उनीहरुले आफ्नो आत्मरक्षाका लागि इजाजतसहित राखेको हतियार कुन प्रयोजनमा प्रयोग हुन्छ भन्ने विषयमा भने सुर्खेत प्रशासन नै अनविज्ञ देखिएको छ ।

Translate »