सुर्खेतमा एमाले प्रवेशको लहर

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुर्खेतमा नेकपा (एमाले) मा प्रवेश गर्ने लहर चलेको छ ।

सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा बिहीबार मात्रै २५ घरपरिवारका दर्जनौं व्यक्तिहरू एमाले प्रवेश गरेका छन् । पूर्वी सुर्खेतको लेकबेशी–१०, बडीपाटी र लेकबेशी–९, रातटाँडीलगायतका विभिन्न स्थानमा नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेहरुमा अधिकांश युवाहरू छन् ।

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको ठहर गर्दै कांग्रेस परित्याग गरेको उनीहरुले बताएका छन् । चुनावी अभियानका क्रममा मतदाता भेटघाटका लागि घरदैलो गरिरहेका एमाले उम्मेदवार धुव्रकुमार शाहीसहितका नेताहरुले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

एमाले उम्मेदवार शाहीले आफूहरुप्रति मतदाताहरुको साथ, समर्थन र शुभेच्छा दिनप्रतिदिन बढ्दै गएको बताए । उनले पूर्वी सुर्खेत एमालेमय भइसकेको दाबी गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुर्खेतका दुबै क्षेत्रमा विजय हासिल गर्नेगरी चुनावी अभियानलाई तिव्रता दिइएको उनले बताए ।

यस्तै, सुर्खेत क्षेत्र नं. २ मा पनि एमाले प्रवेश गर्नेहरूको लहर छ । बुधबार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१, हाँसेगाउँका दर्जनबढी विभिन्न पार्टीका अगुवा नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमाले नेता धनबहादुर थापाका अनुसार त्यहाँ नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका विभिन्न पार्टीमा आवद्ध व्यक्तिहरूलाई एमालेमा स्वागत गरिएको छ ।

Translate »