कर्णालीमा निर्वाचन सुरक्षा : पैदल गस्तीदेखि ‘सरप्राइज चेकिङ’ सम्म

सुर्खेत । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन कर्णालीमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदलले बनाएको ‘एकीकृत सुरक्षा योजना, २०८२’ अन्तर्गत सुरक्षा सतर्कता बढाएको हो । नागरिकमा शान्ति सुरक्षाको प्रत्याभुति, महत्वपूर्ण तथा सम्वेदनशील प्रतिष्ठानसँगै संरचनाकोे सुरक्षा एवं अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रदेशका दश वटै जिल्लामा विशेष सुरक्षा व्यवस्था चुस्त बनाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहले जानकारी दिए ।

उनले ‘एकीकृत सुरक्षा योजना, २०८२’ अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले प्रदेश राजधानी सुर्खेतसहित कर्णाली प्रदेशका दश वटै जिल्लामा निर्वाचन सुरक्षा सतर्कता बढाईएको बताए । निर्वाचन लक्षित एकीकृत सुरक्षा गस्तीले आवश्यकता अनुसार होटल, लजहरुमा समेत ‘डग स्नीफिङ’ सहितको जाँचसँगै सम्वेदनशील स्थानहरुमा ‘सरप्राइज चेकिङ’ समेत गर्ने गरेको उनको भनाइ छ ।

उनले प्रदेशका सीमाक्षेत्रमा हुने घुसपैठ, आपराधिक क्रियाकलाप नियन्त्रण, गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीलाई क्रियाशील बनाईएको जनाए । उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचारप्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको उनको भनाइ छ ।

उनले जेनजी आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियार बरामद एवं फरार कैदीबन्दी तथा थुनुवाहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए । सामाजिक सद्भाव भड्काउने प्रयास गर्ने व्यक्ति तथा समूह, सामाजिक सञ्जाल तथा प्रत्यक्ष गतिविधिमार्फत समाजमा अशान्ति फैलाउन खोज्ने प्रवृत्तिमाथि समेत निगरानी बढाइएको उनको भनाइ छ ।

‘निर्वाचनको विषयलाई लिएर हुनसक्ने तोडफोड, आगजनीजस्ता क्रियाकलाप नियन्त्रण गर्न दिनानुदिन प्रहरीले गस्तीलाई अझ प्रभावकारी रुपमा बृद्धि गर्दै आइरहेको छ,’ उनले भने, ‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरीले नियमित गस्तीका साथसाथै सूचना संकलन, खतरा मूल्यांकनसहितको विश्लेषण तथा प्रवाहलाई प्रभावकारी बनाउने कार्य गरिरहेको छ ।’

उनले निर्वाचनलक्षित गस्तीलाई प्रभावकारी र पहुँच बढाउँदै मुख्य चोक, संवेदनशील क्षेत्र तथा सार्वजनिक स्थलहरुमा सिसिटिभी क्यामरामार्फत समेत निगरानी गर्न थालिएको बताए । अहिले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै निर्वाचन आयोगबाट प्राप्त निर्णयहरु कार्यान्वयन गराउन उपलब्ध स्रोतसाधनको अधिकतम् उपयोग गर्ने रणनीति समेत प्रहरीले अवलम्वन गरेको उनको भनाइ छ ।

Translate »