मस्तिकलाई हाईजैक गर्ने मिथ्या सूचनाबाट सचेत रहन प्रेस काउन्सिल सदस्य काफ्लेको आग्रह

निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया

सुर्खेत । प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेले निर्वाचनका बेला जिम्मेवार, सन्तुलित र आचारसंहिताअनुरुपको पत्रकारिताको आवश्यकता रहेको औंल्याएकी छन् ।

प्रेस काउन्सिल नेपालले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मतदाताको अधिकारलाई निष्पक्ष, सुरक्षित र भरपर्दो बनाउने कार्यमा पत्रकारले पुलको काम गर्नुपर्नेमा जोड दिईन् ।

‘मतदाताको मस्तिकलाई हाईजैक गर्ने गरी सामाजिक सञ्जालमा राखिने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट पत्रकार सचेत हुनै पर्छ,’ उनले भनिन्, ‘शक्ति र पहुँचको आधारमा मतादाता वीच फैलाईने भ्रम, अफवाह र त्रासलाई चिरफार गर्न पत्रकारले निर्वाचन आचारसंहितासँगै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु पर्दछ ।’

उनले निर्वाचनका बेला सूचनालाई फिल्टर गरी स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका आवश्यक रहेको औल्याईन् । निर्वाचनको समयमा नकारात्मक समाचारले पार्ने प्रभावप्रति पत्रकारले विशेष ध्यान दिनुपर्ने बताउँदै उनले लोकतन्त्रको रक्षकका रुपमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सुझाव दिईन् ।

‘प्रेस काउन्सिलले सदैव पत्रकार, सञ्चार माध्यम र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्दै आईरहेको छ,’ उनले भनिन्, ‘दर्ता भएका सञ्चार माध्यम र पत्रकारहरुलाई दण्डात्मक कार्वाहीबाट जोगाएर पत्रकार आचारसंहिता अन्तर्गतको अभिभावकीय संरक्षकका रुपमा आफुलाई अगाडि बढाएको छ ।’

कर्णालीलाई काउन्सिलले उप्रेक्षित गर्न नसक्ने दावी गर्दै उनले काउन्सिललाई हेर्ने नजरिया फरक बनाउँन सबैलाई आग्रह गरिन् । काउन्सिल अब पत्रकारको साझा सहयात्रीका रुपमा अघि बढिरहेको उनको भनाइ थियो । उनले देशभर १२१ वटा आचारसंहिता उलंघनका घटना मध्य कर्णालीमा ५ वटा मात्र घटेको जनाईन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन सम्पन्न गराउन पत्रकार र सञ्चारगृहले निर्वाचन आचारसंहिताका साथै पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए । उनले पत्रकार र सञ्चारमाध्यमले निष्पक्षता कायम राख्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गरे कुनैपनि समस्या नआउने बताए ।

अन्तरक्रियामा सहभागी कर्णालीका सञ्चारकर्मीले निर्वाचन आचारसंहिताको परिपालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Translate »