ओलीको गिरफ्तारीविरुद्ध एमाले सुर्खेतको आपत्ति, तत्काल रिहाइ गर्न माग


सुर्खेत । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीप्रति कडा आपत्ति प्रकट गरेको छ ।
जिल्ला कमिटीले शनिबार जारी प्रेस विज्ञप्ति गर्दै पार्टी अध्यक्ष ओली विरुद्ध नवनियुक्त सरकारको गैरकानुनी, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक कदमको भत्र्सना गरेको हो । जिल्ला अध्यक्ष कुलमणि देवकोटाद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा अध्यक्ष ओलीलाई नियन्त्रणमा लिएको आरोप लगाइएको छ ।
एमालेले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगको निष्पक्षतामाथि पनि प्रश्न उठाएको छ । आयोगको गठनदेखि प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियासम्म अपारदर्शी र पूर्वाग्रही रहेको दाबी गर्दै एमालेले प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको ठहर गरेको हो ।

विज्ञप्तीमा सरकारको ‘निरंकुश’ शैलीको विरोध गर्दै अध्यक्ष ओलीलाई विना सर्त तत्काल रिहा गर्नुपर्ने माग गरिएको छ । यस्तै, जाँचबुझ आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने, निष्पक्ष र स्वतन्त्र नयाँ आयोग गठन गर्नुपर्ने लगायतका माग गरिएको छ ।
घटनामा संलग्न वास्तविक दोषीलाई जोगाउन निर्दोषलाई फसाउने काम तत्काल बन्द गर्न समेत एमालेले सचेत गराएको छ ।


