ओली रिहाईको माग गर्दै एमाले सुर्खेतले बुझायो प्रजिअलाई विरोधपत्र


सुर्खेत । नेकपा (एमाले) सुर्खेतले पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा प्रर्दशन गरेको छ ।
एमालेले ओली र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएकोप्रति आपत्ति जाउँदै सरकारलाई विरोध पत्र बुझाएको हो । एमाले सुर्खेतले आज (आइतबार) सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय मार्फत सरकारलाई विरोध पत्र बुझाएको हो ।
विरोध पत्रमा ओली र लेखकलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण र असंवैधानिक कदम भएको उल्लेख गरिएको छ । प्रधानमन्त्रीलाई पठाइएको विरोधपत्रमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा गरिएको पक्राउलाई लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको भन्दै सरकारको उक्त कदमले देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने दावी गरिएको छ ।


अध्यक्ष ओली र काँग्रेस नेता लेखकमाथि गरिएको गैरकानुनी पक्राउ खारेज गरी उनीहरुलाई तत्काल सम्मानपूर्वक रिहाईको माग गरिएको छ । २०८२ भदौ २३ र २४ गतेका घटनाहरुको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरी प्रदर्शनलाई हिंसात्मक बनाउने, तोडफोड एवम् आगजनीमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई पहिचान गरी कानुनी कारबाही गर्न एमाले सुर्खेतले माग गरेको छ ।
सुर्खेतका प्रजिअलाई विरोध पत्र बुझाउँदै एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले कानुनी शासन, मानवाधिकार र लोकतान्त्रिक मूल्यहरुको संरक्षणमा सरकारलाई प्रतिबद्ध हुन आग्रह गरे । उनले राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोधका रुपमा प्रयोग गरिने कदम अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै लोकतन्त्र, संविधान र नागरिक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिए ।
विरोधपत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी उपाध्यायले गृह मन्त्रालय मार्फत प्रधानमन्त्रीलाई पु¥याउने प्रतिबद्धता जनाए ।


