चिंङ्गाड गाउँपालिका केन्द्र विवाद सुलझियो

सुर्खेत । एक सातादेखि जारी चिंङ्गाड गाउँपालिका केन्द्र विवादको विषय सुलझिएको भएको छ ।

जनप्रतिनिधि, राजनीतिक दल सम्मलित सर्वपक्षिय छलफल,परामर्श पश्चात यसअघि पालिकाको प्रशासनिक सेवा प्रवाह अवल्चिङ्गबाट हुँदै आएकोमा अब वडा नं. २, स्थित राजीकुनाबाट हुने सहमतिमा पालिका केन्द्र विवाद सुलझिएको हो ।

विहीबार बसेको सर्वपक्षिय छलफल, परामर्श बैठकले गत चैत २६ गते सम्पन्न गाउँसभाले पालिकाको प्रशासनिक कामकाज सामुदायिक भवन राजीकुनाबाट सञ्चालन गर्ने निर्णयलाई सदर गर्दै अब पालिकाको केन्द्र, चिङ्गाड–५, अवलचिङ्गबाट ढाडखेत कायम गर्ने सहमति भएको पालिकाका अध्यक्ष बोधविक्रम जिसीले जानकारी दिए ।

उनले पालिका केन्द्र विवादलाई स्थगित गरि शान्ति सुब्यबस्था कायम गर्ने गराउने सहमति भएको बताए । सर्वपक्षिय छलफलबाट ढाडखेतमा जग्गा ब्यबस्थापनका लागि गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा टिम निर्माण गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

उक्त निर्णय अनुमोदनका लागि कार्यपालिकासँगै गाउँसभामा पेश गर्ने सहमति समेत भएको हो । छलफलबाट पालिका केन्द्र सम्बन्धि सर्बोच्चमा रहेको मुद्दाको निबेदकहरुलाई निबेदन दाबी फिर्ता गर्न लगाउने र सोको जिम्मेवारि समेत तोक्ने सहमति भएको पालिकाका अध्यक्ष जिसीले जानकारी दिए ।

यसअघि पालिका केन्द्र निर्धारणका लागि २०७५ माघ ७ गते मतदानबाट गाउँसभाको दुइतिहाईले वडा नं २ पुङ खेत पालिकाको केन्द्र निर्धारण गरेको थियो । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले चिङ्गाड गाउँपालिकाको केन्द्र चिङ्गाड गाउँपालिका वडा नं ५ अवलचिङ बाट हेरफेर भइ वडा नं २ पुङ खेत हुने गरी २०७८ साउन ११ गतेको राजपत्रमा सूचना प्रकाशन गरिसकेको थियो ।

तर अवल्चिङ्गमै केन्द्र हुनपर्छ भन्ने पक्षले उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो । लामो समयसम्म मुद्धाको फैसला नहुँदा चिङ्गाड गाउँपालिकाको केन्द्र विवाद समाधान गर्न ढिलाई भएको हो । गाउँपालिका अध्यक्षसहित पाँच वटा वडाका जनप्रतिनिधि राजीकुनाबाट सेवा प्रवाह सुरु गर्ने पक्षमा थिए भने मुद्धाको फैसला नभएसम्म पहिलेकै ठाउँबाट कामकाज गर्नुपर्ने अवल्चिङ्गको अडान कायम रहँदा विवाद चुलिएको थियो ।

केन्द्र विवादका कारण एक सातादेखि पालिकाको प्रशासनिक काम ठप्प हुँदा सेवाग्राहीले सास्ती भोक्दै आएकोमा अब पुङ खेतबाट सेवा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

Translate »