सुर्खेतमा ट्राफिक प्रहरीद्वारा मापसे र लापसेको संयुक्त चेकजाँचमा कडाई

दिल बहादुर खत्री/ सुर्खेत । सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सुर्खेतमा नियम उल्लंघन गरेर सवारी चलाउने माथि कडा निगरानी शुरु गरेको छ ।

पछिल्ला दिनहरुमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारण मध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लंघन रहेको निष्कर्षपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले विशेष अभियान नै सञ्चालन गरेको हो ।

सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर हिजोआज कार्यालय प्रमुख (एसपी) मुकुन्दप्रसाद रिजाल टोलीसहित आफैं सडकमा खटिने गरेका छन् । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालकलाई लक्षित गरी दिउँसो र साँझतिर विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका चालकहरुलाई केन्द्रित गरेर विभिन्न स्थानमा चेकजाँच सुरु गर्ने गरेको छ ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरका मुख्य चोक, व्यस्त सडक तथा दुर्घटना बढी हुने स्थानहरुमा ट्राफिक प्रहरी परिचालन गरी चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेका छन् वा छैनन् भन्ने परीक्षण गरिँदै आएको छ । आइतबार ट्राफिक प्रहरी कार्यालयले कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर–२ गिरिघाट नजिक अढाई सय सवारी साधनको चेकजाँच गरेको हो ।

चेकजाँचका क्रममा मापसे–एक, लापसे–एक र ट्राफिक नियम उलंघन गर्ने २७ वटा सवारी साधन तथा चालकलाई कारवाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले बताएको छ । कार्यालयका अनुसार कुल २ सय ५० वटा सवारी साधनको चेकजाँच गरिएकोमा ५० वटा सवारी साधनलाई कारवाही गरिएको हो ।

ती मध्य लागु औषध प्रयोग गरेर सवारी चलाउने एक जना अटो चालकलाई नियन्त्रणमा लिएर थप कारवाहीका जिल्ला प्रहरी कार्यालय पठाईएको (एसपी) रिजालले बताए । उनले चेकजाँचका क्रममा ३ वटा सार्वजनिक सवारी साधनबाट अतिरिक्त सिट निकाएको, २० वटा अनावश्यक लाइट निकालिएको, ३० वटा झल्लर निकालिएको र २ वटा लेदरप्लेट समेत निकालिएको जानकारी दिए ।

उनका अनुसार चेकजाँचका क्रममा दुई सय सवारी साधनलाई सम्झाई बुझाई छाडिएको छ ।

उनले भने, ‘एक जना चालकले दर्जनौँ यात्रु बोकेर यात्रा गराइरहेको हुन्छ । यदि त्यही चालकले मापसे वा लापसे गरेर सवारी चलायो भने दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ? हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो । त्यसैले मापसे र लापसे गरेर सवारी चलाउने चालकविरुद्ध कडा रुपमा प्रस्तुत हुनु परेको हो ।’

ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत हालसम्म दर्जनौं सार्वजनिक सवारी साधनका चालकहरु मापसे र लापसे सेवन गरी सवारी चलाएको पाइएपछि कारबाहीमा परिसकेका छन् ।

पक्राउ परेका चालकलाई ट्राफिक नियमअनुसार जरिवाना गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

 

 

Translate »