सुर्खेतको पञ्चपुरीबाट अनलाइनमार्फत जुवा खेलाउने तीन जना पक्राउ

सुर्खेत । अनलाइनमार्फत जुवातास खेलाउने तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सुर्खेतको पञ्चपुरी नगरपालिका–९, का ३९ वर्षिया शिक्षक महेन्द्रकुमार बोहरा, सोही ठाउँका ४२ वर्षिया व्यापारी यामलाल विक, र सोही ठाउँका होटल व्यवसायी ४४ वर्षिय डम्मर विकलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जालका माध्यमबाट अनलाईन जुवा सट्टेबाजी खेलाउनुका साथै विभिन्न बैंकमा खाता खोली शंकास्पद तथा यकिन स्रोत नभएको कारोवार गरेको अनुसन्धानबाट देखिन आएकाले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका शिक्षक महेन्द्रकुमारले विभिन्न बैंकमा ६ वटा खाता खोली करिब २ करोड ४६ लाख बराबरको शंकास्पद कारोवार गरेको पाईएको छ ।  त्यस्तै व्यापारी यामलालले विभिन्न बैंकमा ५ वटा खाता खोली खाता दुरुपयोग गरेको प्रहरीको भनाई छ । यस्तै होटल व्यवसायी डम्मरले विभिन्न बैंकमा ९ वटा खाता खोली शंकास्पद कारोवार गरेको पाईएको हो ।

उनीहरुले सामाजिक सञ्जालका माध्यमबाट ठगी गर्ने मनसायले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी हातजित हुने गरी अनलाईन जुवा सट्टेबाजी खेलाउने गरेको पाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार तीनै जनालाई ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको हो । उनले उनीहरु माथि बैकिङ कसुर, जुवातास सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरण लगायत कसुरमा प्रारम्भिक अनुसन्धान भईरहेको बताए ।

नेपालको कानुनले बन्देज गरेको अवैध जुवातास र नेपाल राष्ट्र बैंक ऐन, विपरीत वित्तीय कारोबार गर्ने गरेको अभियोगमा उनीहरुमाथि अहिले छानविन भईरहेको उनको भनाई छ ।

साथै अनलाईन ठगी, जुवा, सट्टेबाजीमा संलग्न हुन वा सहयोग गर्नु गम्भिर अपराध भएकोले आफ्नो खाता, पिन कोड, ओटीपीलगायत विवरण गोप्य तथा सुरक्षित राखी कसैलाई सेयर नगरी ठगिनबाट बच्न समेत प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Translate »