सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै

सुर्खेत । पर्यटन प्रवद्र्धनसँगै लगानीको वातावरण सृजना गर्न र अन्तरदेशीय पहुँच विस्तार गर्ने उद्देश्यले सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका र होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ ९ देखि ११ गतेसम्म पर्यटन सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक तर्कबहादुर शाहीले जानकारी दिए ।

उनले कर्णालीको पर्यटन विकास, प्रवद्र्धन र दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको बताए । उनका अनुसार सम्मेलनमा नेपालसँगै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली राज्यका पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, ट्राभल एजेन्सी, टुर अपरेटर, होटल व्यवसायी र पर्यटन विज्ञहरुको सहभागिता रहने छ ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा, साहसिक पर्यटन तथा अतिथि सत्कारका दृष्टिले कर्णाली सम्भावनायुक्त भएपनि पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनको भनाइ छ । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको सम्मेलनमार्फत ती सम्भावनालाई विश्व पर्यटन बजारसम्म पु¥याउने लक्ष्य राखिएको छ ।

आयोजकका अनुसार सम्मेलनमा बीटुबी बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भ्रमण, फ्याम ट्रिप, प्राविधिक छलफल, प्यानल डिस्कसन तथा सांस्कृतिक कार्यक्रम हुने छन् ।

Translate »