भारतले चिनी निर्यात रोकेपछि नेपालमा मूल्य बढ्ने चिन्ता

नयाँ दिल्ली (भारत) । भारतले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । आन्तरिक बजारमा मूल्य नियन्त्रण र मौज्दात सुनिश्चित गर्न भारत सरकारले बुधवारदेखि लागू हुने गरी निर्यातमा रोक लगाएको हो ।

वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले एक सूचना जारी गर्दै चिनीको निर्यात नीतिमा परिवर्तन गरेको छ । यसअघि ‘प्रतिबन्धित’ श्रेणीमा रहेको चिनीलाई अब ‘निषेधित’ श्रेणीमा राखिएको छ । यसको अर्थ अब अनुमति लिएर पनि चिनी निर्यात गर्न पाइने छैन ।

सरकारको नयाँ निर्णयअनुसार कच्चा, सेतो र प्रशोधित सबै प्रकारका चिनीको निर्यातमा तत्कालका लागि रोक लगाइएको छ । यो व्यवस्था आगामी असोज १४ (सेप्टेम्बर ३०) सम्म वा अर्को आदेश नआएसम्मका लागि कायम रहने महानिर्देशनालयले जनाएको छ । तर, अमेरिका र युरोपेली संघमा रहेका देशका लागि तोकिएको निश्चित कोटा अन्तर्गतको निर्यातमा प्रतिबन्ध लाग्ने छैन ।

भारतको यो निर्णयले नेपालसहितका छिमेकी मुलुकको बजारमा चिनीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।

Translate »