आयुर्वेदप्रति बिरामीको आकर्षण : ४ वर्षदेखि भवन अधुरो हुँदा सेवा प्रवाहमा समस्या

सुर्खेत । पछिल्लो समय आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको छ । सुर्खेतको वीरेन्द्रनगर–४, स्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको सेवा बिस्तारसँगै बिरामीको आकर्षण बढ्दै गएको हो ।

आयुर्वेदिक चिकित्सा पद्धतिबाट रोगको निदान सहज र सर्वसुलभ तरिकाले हुने भएकाले उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको अस्पतालले जनाएको छ । तर, निर्माण ठेकेदारको ढिलासुस्तीले चार वर्षभन्दा बढी समयदेखि अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको हो ।

यसले गर्दा बिरामीहरुले पुरानो र साँघुरो भवनबाट सेवा लिन बाध्य हुनुपरेको हो । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतले उक्त भवन निर्माण सम्पन्न गर्न समयावधि थप गरिए पनि काम सन्तोषजनक हुन सकेको छैन् । अस्पताल भवनको निर्माणको प्रक्रिया २०७८ असार ३० गतेबाट सुरु भएको हो ।

तर अहिलेसम्म उक्त भवनको काम हालसम्म ५० प्रतिशत पनि सम्पन्न भएको छैन् । १८ करोड २२ लाख लागत सम्झौता रहेको उक्त भवन निर्माणको काम कौशल जगदम्बा सुपरस्टार निर्माण कम्पनीले २०७९ फागुन ३ गतेसम्म सम्पन्न गर्ने भनेर जिम्मेवारी लिएको थियो । निर्माण व्यवसायी कालिकोटकी तारा शाहीले लिएको यो ठेक्काको काम समयमै सम्पन्न नगर्दा सेवा प्रवाहमा समस्या पर्दै आएको अस्पतालले जनाएको छ ।

अधुरो भवन निर्माणका लागि २०८१ फागुन २९ गतेसम्म म्याद थप गरिएको थियो । १५ शैयाको भवन निर्माण गर्ने उद्देश्यसहित यहाँ संघीय आयोजना इकाईबाट बजेट व्यवस्थापन गरिएको हो । अस्पतालका निर्देशक डाक्टर लक्ष्मीनारायण तिवारीले निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण भवन बन्न नसकेको बताए ।

ठाउँठाउँका संरचना अलपत्र पारेकी सुपरस्टार कन्स्ट्रक्सनकी सञ्चालक तारा शाहीले लिएका अन्य स्वास्थ्यका संरचनाको काम पनि अलपत्र अवस्थामै रहेको पाइएको छ । उनले अन्य कम्पनीसँग मिलेर जिल्ला अस्पताल दैलेखको भवन निर्माण, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको काम लिएकोमा ती पनि अलपत्र छन् ।

सेवाग्राहीको संख्या बढ्दै

अस्पतालका मेडिकल रेकर्डर सुजाता पौडेलका अनुसार आयुर्वेदप्रति बढ्दो विश्वाससँगै अस्पतालको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउने सेवाग्राहीको संख्यामा वृद्धि हुँदै छ । विगत भन्दा अहिले आएर आयुर्वेद तर्फ सर्वसाधारणको रुची बढ्न थालेको उनको भनाइ छ ।

उनले चालु आर्थिक वर्षको पछिल्लो दश महिनामा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाट १४ हजार ९ सय ४३  जनाले सेवा लिएको जानकारी दिईन् । ‘आयुर्वेद उपचारको बारेमा जानकारी भएका व्यक्तिहरु उपचार र परामर्शको लागि केन्द्रमा आउनेक्रम बढेको छ,’ उनले भनिन्, ‘पछिल्लो समय नेपाललगायत विश्वमा नै आयुर्वेदिक उपचार पद्धतितर्फ आकर्षण बढ्दो छ ।’ उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा सोही अवधिको बैशाख मसान्तसम्म १२ हजार ३ सय ६५ जनाले सेवा लिएका थिए ।

उनले नेपाल र भारतका ठुला–ठुला सहरमा रहेका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि रोग निको नभएपछि यहाँ आएर उपचार गराउँदा निको हुनेको संख्या थपिँदै गएको बताईन् । उनका अनुसार अस्पतालमा पेट, नसासम्बन्धी रुघाखोकी, पायल्स फिस्टुलाका रोगीहरु उपचारका लागि धेरै आउने गरेका छन् । अस्पतालबाट २३ प्रकारको औषधि निःशुल्क पाइने गरेको छ ।

सार्वजनिक विदामा पनि सेवा

नेपाल सरकार मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा गरेपनि प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले अन्तरंग सेवा निरन्तर सञ्चालन गरिरहेको छ । बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै अस्पतालले बिदाको दिनमा समेत सेवा प्रवाह गर्दै आईरहेको हो ।

अस्पतालले शुक्रबारमा समेत बिहान ९ देखि बेलुका ५ बजेसम्म नियमित ओपीडी सेवा सञ्चालन गरिरहेको छ । बिदाका दिनहरुमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भन्ने पवित्र उद्देश्यले सम्भव भएसम्मका सेवाहरु अस्पतालले प्रदान गर्दै आईरहेको अस्पतालका नर्सिङ अधिकृत कृष्णा खनालले बताईन् ।

उनले आफुसँग उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्ने व्यवस्था समेत मिलाईएको जनाईन् । ‘सार्वजनिक विदामा समेत अन्तरंग सेवा प्रवाहले बिरामीलाई सहजता मात्र दिएको छैन, स्वास्थ्य सेवाप्रति अस्पतालको उत्तरदायित्व र संवेदनशीलता पनि झल्काएको छ,’ उनले भनिन्, ‘गुणस्तरीय सेवा, सहज पहुँच र समर्पित स्वास्थ्यकर्मीका कारण अस्पतालप्रति सेवाग्राहीको विश्वास दिनानुदिन बढ्दै गईरहेको छ ।’

उनले सेवाग्राहीको मागलाई मध्यनजर गरेर बिदाको दिनमा समेत सेवा प्रवाह गर्ने कार्य अन्य स्वास्थ्य संस्थाका लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गरिन् ।

अन्तरंग सेवा (आईपीडी)

कर्णाली प्रदेश सरकार मातहतमा रहेको अस्पताललाई प्रदेशले ३० बेडको अस्पतालको मान्यता दिएको छ । तर संरचना नहुँदा अहिले १२ बेडको मात्र सेवा दिईरहेको आयुर्वेद अस्पतालका निर्देशक डाक्टर लक्ष्मीनारायण तिवारीले बताए ।

‘भवन अभाव हुँदा तोकिएको संख्याको बेडबाट दिने उपचार सेवा दिन सकेका छैनौं, अहिले १२ बेडको मात्र सेवा दिने गरेका छौं,’ उनले भने, ‘अस्पतालको भवन निर्माण तोकिएको समयमा निर्माण हुन नसक्दा ४ वर्षदेखि अलपत्र अवस्थामा छ, छिटो भवन निर्माणका लागि सबैको सहयोग आवश्यक देखिन्छ ।’

उनले बिरामीको चाप वृद्धि हुन थालेपछि जनशक्ति अभाव समेत खट्किन थालेको जनाए । उनका अनुसार अस्पतालले आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिको प्रचारप्रसारका लागि सञ्चार माध्यमसँगै विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिविरको आयोजना गरेर आम नागरिकलाई जानकारी गराउँदै आएको छ ।

‘५ वर्ष अघिसम्म दैनिक करिब दुई दर्जन जति बिरामी उपचार सेवाका लागि आउने गर्थे । तर आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने, ‘अस्पतालमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै छ, विशेष गरेर हड्डी दुखाइका विरामीहरु अत्यधिक आउने गरेका छन् ।’

उनका अनुसार कतिपय बिरामीहरु भने अन्य उपचार गराएर रोग निको नभएपछि आयुर्वेदतर्फ आउने गरेका छन् । उनले अस्पताल आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहार विहार र योग तथा मनोसामाजिक परामर्श समेत दिएर उपचार गरिरहेको जनाए ।

‘स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा सेवा प्रवाह गर्न नसकिएको सत्य हो्,’ उनले भने, ‘प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्तदुरुस्त बनाउन सकिन्छ, त्यसका लागि अस्पतालको तत्काल भौतिक संरचना निर्माण अति जरुरी छ ।’

आर्युेवेद पूर्वीय चिकित्सा पद्धति रहेपनि कर्णालीमा आर्युेवेद चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान नहुँदा ओझेलमा पर्दै आएको छ ।

मलद्वारको रोगको सटिक उपचार

पछिल्लो समय धेरै मानिसमा पाइल्स, फिसर, फिस्टुला लगायत मलद्वारमा हुने विभिन्न खालका रोगको समस्या देखिने गरेको छ । मलद्वारबाट रगत आउने, मलद्वार सुन्निने, चिलाउने, घाउ हुने, पिप आउने, दुख्ने, दिसा गरेपछि पनि दिसा बाँकी भएको अनुभव हुने समस्या भए तत्काल उपचार गराउनु पर्ने अस्पतालका सूचना अधिकारी (वरिष्ठ कविराज निरीक्षक) श्रीराम आचार्यले बताए ।

उनले यसबाट बच्नको लागि प्रचुर मात्रामा हरियो रेसादार सागसब्जी, फलफूल, तरकारी र प्रशस्त मात्रामा पानी पिउनु पर्ने सुझाव दिए । दिसा गर्दा बल प्रयोग नगर्न, ट्वाइलेटमा लामा समय नबस्न, मोबाइल वा किताब लिएर ट्वाइलेटमा नजान उनको सुझाव छ ।

‘प्रारम्भिक चरणमा औषधि उपचारबाट नै रोग ठिक हुन्छ, यदि रोग जटिल भई शल्यक्रिया आवश्यक देखिएमा विशेषज्ञ चिकित्सकबाट अति न्यून शुल्कमा सेवा दिने गरेका छौं,’ उनले भने, ‘रोग लुकाएर समयमा नै उपचार नगर्दा रोग बिग्रन गई क्यान्सर भएर मानिसको ज्यान जान सक्न छ ।’

उनका अनुसार अस्पतालमा सुगर, प्रेसर, मिर्गौला, कलेजो, दिसा, पिसाब, हाडजोर्नी, बाथ, ग्याष्टिक, रक्तचाप लगायत नसर्ने रोगका बिरामीहरु बढी आउने गरेका छन् ।

अस्पतालले बिरामीको ओपिडी जाँच तथा उपचार सेवा, आयुर्वेद उपचारको पञ्चकर्म र पूर्वकर्मका सेवाहरु, ल्याब, फिजियोथेराफि, अकुपञ्चर, क्षारसूत्र शल्यक्रिया, स्तनपाई आमालाई दूधवर्धक औषधी, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवद्र्धन सेवा लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको उनको भनाइ छ । अन्यत्र उपचार गर्दा रोग निको नभएपछि बिरामीहरु उपचारको लागि अयुर्वेद अस्पतालमा पुग्ने गरेका छन् ।

ठोक्किएको शरीर दुखेर बिरामी परेपछि ठाउँ–ठाउँमा उपचार गर्दा पनि निको नभएपछि यहाँ उपचार गराउँदा सञ्चो भएको पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका स्थानीय धर्मराज पाठकले बताए । ‘यहाँ सेक्ने र मालिस गर्ने गरेपछि निक्कै सञ्चो भएको छ’, उनले भने ।

Translate »