बाजुरा–हुम्ला सिमाना विवादमा घाइते ४ जनाको हेलिकप्टरमार्फत उद्दार

बाजुरा बाजुरा र हुम्लाको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयबीच भएको विवाद हिंसात्मक बनेपछि ६ जना घाइते मध्ये ४ जनालाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत पठाइएको छ ।

हिमाली गाउँपालिका–३ लाम्पाटामा हुम्लाका स्थानीयको आक्रमणमा परी गम्भीर घाइते भएका पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।

झडपका क्रममा प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा पनि घाइते भएका थिए ।

हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णयपछि विवाद सुरु भएको थियो । स्थानीयका अनुसार चौकी निर्माणका लागि टोली पुगेपछि हुम्लाका स्थानीयले कवाडी खोला भन्दा वारिपट्टि आएर संरचना बनाउन खोजिएको’ भन्दै अवरोध गरेपछि विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झडप भएको थियो ।

घटनापछि सीमावर्ती क्षेत्रमा तनाव बढेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । हिमाली गाउँपालिकाका युवाहरुले एक बिज्ञप्ति जारी गर्दै बाजुरा बाट कर्णाली करिडोर हुँदै हुम्ला जाने यातायातका साधन चल्न नदिने घोषणा गरेका छन्। स्थानीय प्रशासनले सबैलाइ संयमता अपनाउन अनुरोध गरेको छ।

Translate »