नेपाली सेनाद्वारा तालिममा बेहोस भएका सशस्त्रका ६ जवानको हवाई उद्दार

सुर्खेत । नेपाली सेनाले टिकापुरमा बेहोस भएका सशस्त्र प्रहरीलाई हेलिकप्टरबाट उद्दार गरेको छ ।

आज विहान सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टिकापुरमा तालिम लिइरहेका ६ जना प्रहरी जवानलाई नियमित दौडको क्रममा बेहोस भएपछि सेनाको हेलिकप्टरले उद्दार गरेको हो ।

तालिम गर्दा आठ जना बेहोस भएका थिए । बेहोस भएकालाई टीकापुर अस्पतालमा भर्ना गरिएको थियो । ती मध्य ६ जनाको अवस्था गम्भीर देखिएपछि हेलिकप्टरमार्फत दुई–दई जनाका दरले (तीन खेप) गरी कैलालीबाट सुर्खेत ल्याईएको थियो ।

काठमाडौं पठाउनका लागि सुर्खेत ल्याईएका बेहोस जवानहरु चित्रबहादुर थापा मगर, मनबहादुर बस्नेत, धिरज थापा, सुरेश शाही, बलबहादुर बस्नेत र किरण नाथ योगी रहेका छन् ।

थप उपचारका लागि सुर्खेतबाट एकैपटक ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको हो । अत्यधिक गर्मी ‘हिट स्ट्रोक’ का कारण उनीहरु बेहोस भएको सशस्त्र प्रहरीको भनाइ छ ।

कैलालीको टीकापुर क्षेत्रमा केही दिन यता गर्मी बढेर दिउँसो ४० डिग्री आसपास पुग्ने गरेको छ ।

Translate »