सेनाद्वारा सुत्केरी महिलाको हवाई उद्दार


सुर्खेत । नेपाली सेनाले रुकुम पश्चिमबाट सुत्केरी महिलाको उद्दार गरेको छ ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५, रिम्काकी ३० वर्षीया सरिता विकले हिजो मात्र जन्म दिएको बच्चामा जटिल समस्या देखिएपछि थप उपचारका लागि आज सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याईएको हो ।
सरितालाई बुधबार सुत्केरी व्यथा लागेपछि विहीबार जन्मिएको बच्चाको अवस्था जटिल देखिएपछि रिम्का स्वास्थ्य चौकीले रेफर गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत थप उपचारका लागि सुर्खेत ल्याईएको प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीले जानकारी दिईन् ।

अहिले बच्चालाई ईमेरजेन्सीमा वार्डमा राखेर उपचार भईरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार नवजात बच्चाको अवस्था धेरै नाजुक रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत ती महिला र बच्चाको उद्दार गरिएको नेपाली सेनाले जनाएको छ ।


