डोल्पाको छार्का ताङसोङमा फोरजी सेवा पुग्यो


डोल्पा । नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ ।
समुन्द्री सतहदेखि ४ हजार २ सय मिटर उँचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको हो ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार यो सँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको सङ्ख्या ७५० पुगेको छ । माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट हो ।

अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको फोरजी सेवा पुग्न बाँकी छ । नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय निकायहरुमा समेत फोरजी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।
फोरजी सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पदमार्गका पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुनुका साथै विभिन्न प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरुमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको बताएको छ । रासस

