सुर्खेतमा भारत र चीनसहित देशका पाँच प्रदेशबाट तरकारी तथा फलफुल आयात

वीरेन्द्रनगर । सुर्खेतमा भारत र चीनसहित देशका पाँच प्रदेशबाट तरकारी तथा फलफुल आयात हुने गरेको छ । आन्तरिक मागलाई स्थानीय उत्पादनले थेक्न नसक्ने भएपछि देशका १८ जिल्लासहित भारत र चीनबाट समेत तरकारी तथा फलफुल आयात गर्नु परेको हो ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा दैनिक ७५ लाख रुपैयाँको तरकारी तथा फलफुल आयात हुने गरेको बुलबुले कृषि थोक बजारले जनाएको छ । ती मध्य ८० प्रतिसत तरकारी तथा फलफुल भारत र चीनसहित बाहिरी जिल्लाबाटै आयातमा गर्नुपर्ने बाध्यता रहेको छ । त्यसरी आयातित तरकारी तथा फलफुलमा विषादीको प्रयोग समेत हुने गरेको पाईएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ ११ गतेसम्म आयातित तरकारी तथा फलफुलको विषादी चेकजाँच गरिएका २ हजार २ सय ४० वटा नमूना परीक्षण गरिएको मध्य ८ वटालाई (क्वारेन्टाईन) मा राखिएको र १२ वटालाई नष्ट (विसर्जन) गर्नु परेको छ । मंगलबार वीरेन्द्रनगर नगरपालिकाका उपमेयर तथा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालन समितिका अध्यक्ष निलकष्ठ खनालको अध्यक्षतामा बसेको बैठकमा सो जानकारी गराईएको हो ।

बैठकमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका नायव प्राविधिक सहायक धनसिंह धामीका अनुसार सुर्खेतमा कर्णाली प्रदेशका दैलेख, सल्यान, जाजरकोट, जुम्ला, कालिकोट र मुगु, सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, कैलाली र कञ्चनपुर, लुम्विनी प्रदेशका दाङ, बाँके, बर्दिया र रोल्पा, बागमती प्रदेशका धादिङ, भक्तपुर र चितवन एवम् गण्डकी प्रदेशको नवलपरासीबाट तरकारी तथा फलफुल आयात हुने गरेको छ ।

भारतबाट तरकारी तथा फलफुल एवम् चीनबाट फलफुल मात्र आयात हुने गरेको उनको भनाइ छ । भारतबाट आयातित तरकारी तथा फलफुलका ३ सय ३४ वटा र चीनबाट आयातित फलफुलको ८ वटा नमूना संकलन गरी विषादीको मात्र परीक्षण गरिएको धामीले बैठकमा जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी विषादी परीक्षण ६ सय ६८ वटा सुर्खेत जिल्लामै उत्पादित तरकारी तथा फलफुलमा गरिएको हो । ‘खान नहुने विषादी भेटिएका अधिकांस सुर्खेतकै स्थानीय उत्पादनसँगै दैलेख, सल्यान, दाङ, बाँके चितवन र धादिङबाट आयातित तरकारी तथा फलफुलमा देखियो,’ उनले भने, ‘नमुना परीक्षण गरिएका तरकारी तथा फलफुलमा खान नहुने विषादी रोकावटको दर ६१ प्रतिशत भन्दा बढी रहेको पाइयो ।’

उनले हालसम्म करिब ५ लाख मूल्यका खान नहुने विषादी भेटिएका तरकारी तथा फलफुल नष्ट गरिएको बताए ।  उनका अनुसार विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले चालु आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ८ सय कृषि उपज नमूना परीक्षण गर्ने लक्ष्य राखेकोमा जेठ ११ गतेसम्म ४ सय ४० वटा बढी नमूना परीक्षण गरिएको छ ।

उनले वीरेन्द्रनगर नगरपालिका कृषि शाखाको सहयोग तथा सहकार्यबाट वीरेन्द्रनगर क्षेत्रमा २ हजार १ सय ३४, पञ्चपुरी नगरपालिकामा १२, बराहताल गाउँपालिकामा २९, भेरीगंगा नगरपालिकामा ४५, लेकवेशी नगरपालिकामा १२, र चिङ्गाड गाउँपालिकामा ८ वटा नमूनाको विषादी परीक्षण गरिएको बताए ।

बैठकमा बुलबुले कृषि थोक बजार सञ्चालन समितिका अध्यक्ष टोपेन्द्रजंग शाहीले विषादीको असरका बारेमा कृषकलाई व्यापक जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याए । उनले आयाति भन्दापनि स्थानीय स्तरमै उत्पादित तरकारी तथा फलफुलमा प्राय: विषादी भेटिने गरेको जनाए ।

सुर्खेतमा तोकिएको भन्दा बढी विषादी नमूना परीक्षण गरिएकाले कार्वामेट र अग्र्यानोफस्फेटसँगै अन्य समूहका औषधी तथा थप जनशक्ति केन्द्रीय कृषि प्रयोगशालासँग माग गर्ने निर्णय बैठकले गरेको वीरेन्द्रनगर कृषि शाखा प्रमुख हेमराज केसीले बताए । उनले विषादी परीक्षणको दायरा बढाउने, छड्के नमूना संकलन थप्ने र विषादी व्यवस्थापन सम्बन्धि सचेतना फैलाउने निर्णय बैठकले  गरेको जानकारी दिए ।

बैठकमा वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, कृषि विकास निर्देशनालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला, बुलबुले कृषि थोक बजार, राष्ट्रिय कृषक महासंघ नेपाल, विषादी व्यवसायी संघ र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Translate »