काँक्रेविहार वन संरक्षित क्षेत्रभित्रै वन्यजन्तु असुरक्षित, आज एक जरायो मृत्त फेला


सुर्खेत । नेपालकै पहिलो संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रभित्र वन्यजन्तु भने असुरक्षित छन् ।
वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीमा रहेको सो क्षेत्रमा महिनैपिच्छे संरक्षित जनावर जरायो मर्ने गरेका छन् । जसका कारण संरक्षित वनमा वन्यजन्तु असुरक्षित बनेका हुन् । स्थानीयका अनुसार काँक्रेविहार क्षेत्रमा मारिने मध्य केही कुकुरले लखेटेर, खाडलमा डुबेर र धेरैजसो पासोमा पारेर वा चोरी सिकारीबाट मारिएका छन् ।
लाटीकोइलीका स्थानीय नविन शाक्यले यसरी मारिँदा अहिले काक्रेविहारमा जरायोको सङ्ख्या घट्दै गएको जनाए । काँक्रेविहारभित्र भिड र चर्को आवाजले पनि शान्ति खोज्ने जरायो बाहिरिन थालेका छन् । त्यसका साथै जरायोले मन पराउने घाँस र पानीको अभावले गर्दा पनि बाहिर निस्किएका बेला मार्ने, खाल्डोमा डुब्ने गरेको पाइएको शाक्यले बताए ।
उनका अनुसार महिनामा कम्तीमा एक÷दुई वटा जरायो मर्ने गरेका छन् । विगतमा ७० वटासम्म रहेको भनिएका जरायो अहिले बढीमा ४०/५० वटासम्म रहेको हुन सक्ने अनुमान गरिएको छ । जरायो प्रायः साँझको सुनसान अवस्थामा चर्न निस्कन्छन् । काँक्रेविहार जङ्गलभित्र घाँस खान नपाउने, पानीको अभाव र हो हल्ला हुँदा जरायो बाहिर गएको मौकामा चोरी सिकारीले मार्न लखेट्ने र भाग्दा खाडलमा डुब्ने स्थानीय बताउँछन् ।

यस्तो अवस्थामा जरायो संरक्षण गर्न काँक्रेविहारभित्र वनभोज खान रोक लगाउनुपर्ने र वन्यजन्तुका लागि पानीको व्यवस्था गर्नुपर्ने शाक्यको भनाइ छ । प्राकृतिक पानीपोखरी निर्माण गर्न डिभिजन वन कार्यालयलाई बारम्बार आग्रह पनि उनको भनाइ छ । यद्यपि अग्लो डाँडामा भएकाले पानी जम्मा हुन नसकेको बताइएको छ ।
डिभिजन वन कार्यालय सुर्खेतले जरायोका लागि पानीपोखरी निर्माण गरिए पनि खडेरीमा सुक्ने गरेको जनाएको छ । विगतमा बनाएका पोखरीमा पानी जम्न नसक्दा समस्या आएकाले अहिले पानी अडिन सक्ने खालको बनाइने डिभिजन वन कार्यालयका सूचना अधिकारी नवराज पौडेलले बताए ।
उनले आज मृत्त फेला परेको जरायो प्राकृतिक रुपमै मृत फेला परेकाले मुचुल्का उठाएर काँक्रेविहारमै गाडिएको जानकारी दिए । उनका अनुसार मृत्त जरायोको उमेर करिब दुई वर्षको हुन सक्ने आकलन गरिएको छ । काँक्रेविहार जंगलको संरक्षण हुन नसक्दा जरायो लोप हुने अवस्थामा पुगेको भन्दै सामाजिक अभियन्ता नवराज बोहोराले काँक्रेविहारमा वन्यजन्तु, चराचुरुङ्गी तथा वनस्पतिलाई आवश्यक दिगो पानीको उपलब्ध सुनिश्चि गर्नुपर्नेमा जोड दिए ।
उनले जरायोलाई शान्त वातावरण मन पर्ने तर अहिले त्यहाँ बढी भिडभाड हुने हुँदा तिनीहरू बाहिर निस्कँदा मारिन पुगेको जनाए । जरायोलगायतका वन्यजन्तुको बासस्थान, प्रजनन स्थल संरक्षणका लागि काँक्रेविहार क्षेत्रभित्रमा दिगो पानीको व्यवस्थापन नहुनु र मानिसको ठुलो जमात नै मुख्य बाधक रहेको उनको भनाइ छ ।

