२०८३ साउन १५ , शुक्रबार
Sky News Nepal
July 31, 2026

बराहतालमा ‘पोषणमैत्री पालिका’ बनाउन नीतिगत छलफल शुरु



सुर्खेत ।  सुर्खेेतको बराहताल गाउँपालिकाले ‘पोषणमैत्री पालिका’ बनाउन नीतिगत छलफल शुरु गरेको छ ।

छलफल मार्फत पालिकाले कुपोषण न्यूनीकरण, मातृ तथा बाल स्वास्थ्य सुधार र बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय कानुन र कार्यविधि निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।

सोमबार पालिकाले पोषणमैत्री स्थानीय तह घोषणाका लागि आगामी बजेट तथा कार्यक्रमम मार्फत सम्बोधन गर्न १ दिने कार्यशाल गोष्ठी गरेको छ । पोषणमैत्री स्थानीय शासन लागू गर्न तोकिएका करिब  ४९ वटा सूचकहरु, जस्तैः संस्थागत व्यवस्था, सेवा प्रवाह, पोषण अवस्था पूरा गर्ने रणनीतिक योजना बनाईएको पालिका स्वास्थ्य शाखा प्रमुख विष्णु गुरुङले बताईन् ।

उनले गाउँ कार्यपालिकाबाट ‘पोषणमैत्री स्थानीय शासन वडा तथा पालिका घोषणा कार्यविधि’ पारित गरी स्थानीय राजपत्रमा प्रकाशित गर्ने विषयमा समेत छलफल भएको जनाईन् । आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार गर्दै सन् २०८७ सम्ममा बराहताल गाउँपालिकालाई पोषणमैत्री बनाउने लक्ष्य राखिएको उनको भनाइ छ ।

बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीको अध्यक्षतामा शुरु भएको गोष्ठीमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बालबालिका, गर्भवती, सुत्केरी महिला र आम नागरिकको पोषण अवस्थामा सुधार ल्याई कुपोषणमुक्त समाज निर्माण गर्ने आफुहरुको मुख्य उद्देश्य रहेको बताए ।

उनले खानपान, स्वास्थ्य सेवा, सरसफाइ र कृषि जस्ता बहुपक्षीय क्षेत्रलाई समेटेर सम्पूर्ण व्यक्तिको शारीरिक एवं मानसिक विकासमा सकारात्मक योगदान पु¥याउँने दिर्घकालिन रणनीति बनाउन लागिएको जनाए । कार्यक्रममा पालिकाका अध्यक्ष भण्डारीले पोषणमैत्री स्थानीय शासन व्यवस्था सञ्चालनका लागि स्वास्थ्य, सरसफाइ, स्वच्छ खानेपानी, कृषि, र शिक्षा लगायतका क्षेत्रहरुबीच समन्वय गरिने बताए ।

उनले नेपाल सरकारको लक्ष्यअनुसार पालिकाका सबै वडाहरु पोषणमैत्री घोषणा गर्ने अभियान सञ्चालन गरिने जनाए । यसका लागि वडाहरुले तोकिएका सूचकहरू (जस्तैः पूर्ण स्तनपान, खोपको अवस्था, कुपोषणको उपचार) पूरा गर्नु पर्नेछ । त्यस्तै स्वास्थ्य संस्थाहरुले पोषणसम्बन्धी गुणस्तरीय सेवा प्रवाह गर्ने, आमा र बच्चाको वृद्धि अनुगमन गर्ने तथा कुपोषण पत्ता लगाई उपचार गर्ने व्यवस्था मिलाउँनु पर्नेछ ।

नागरिकको पोषण स्तर उकास्दै पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता जस्ता समस्याहरुको न्यूनीकरण गर्नु यसको अर्को उद्देश्य हो । बराहताल गाउँपालिकालाई केयर र आईडीईको आर्थिक तथा प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्रारा सञ्चालित पोषण परियोजनासँगको सहकार्यमा बराहताललाई ‘पोषणमैत्री पालिका’ बनाउन लागिएको छ ।

कार्यक्रममा दश वटै वडाका वडाध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुखहरु, पालिकाका विषयगत शाखाका प्रमुखहरुलगायतको सहभागिता रहेको पालिकाका प्रशासन तथा योजना शाखा प्रमुख राजीमान बुढाले जानकारी दिए । उनले कार्यक्रममा बजेट तथा कार्ययोजना निर्माणका विषयमा समूहगत छलफलमा विशेषगरी गर्भवती तथा सुत्केरी सेवा, खोप सेवा, अनुगमन, कृषि उत्पादन बृद्धि, रैथानी बाली संरक्षण, पशुपंक्षीको विकास, विद्यालय भर्नादर, सरसफाइ तथा खानेपानी लगायतका विषयमा केन्द्रीत रहेको जनाए ।

पोषणमैत्री स्थानीय शासन व्यवस्था सञ्चालनका लागि बराहताल गाउँपालिकाले अघि सारेको कार्यक्रमलाई सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले अग्रीम सफलताको शुभ कामना व्यक्त गरेको पालिकाका प्रशासन तथा योजना शाखा प्रमुख बुढाले जनाए । गोष्ठीको सहजीकरण तथा पालिका स्तरीय पोषण प्रोफाइलको अन्तिम ड्राफ्टको जिम्मेवारी स्रोत व्यक्ति तपराज जोशीले पाएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार
Translate »