कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज प्रदेश सभामा प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि मुख्यमन्त्री यामलाल कँडेलले पूर्ण पाठ वाचन गरेका छन् । प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री कँडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।

सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमले कृषिलाई आधुनिकीकरण गर्दै यान्त्रीकरणतर्फ जोड दिइएको छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति लिएको छ । त्यस्तै रैथाने बालीहरुको निर्यात प्रवद्र्धन गर्ने योजना समेत समावेश गरेको छ ।

शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधारमार्फत सुसंस्कृत मानव पुँजीको विकास गर्ने, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र गुणस्तर सुनिश्चित गर्नका लागि स्वास्थ्य सेवालार्य सुदृढीकरण गरिने जनाईएको छ ।

त्यस्तै, व्यवसायिक सीप एवम् उद्यमशीलता विकास गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्दै युवामा सकारात्मक रुपान्तरण ल्याउने, दिगो र गुणस्तरीय सडक सञ्जालको विकास र विस्तार गर्दै प्रदेशको समग्र भौतिक पूर्वाधारको विकास गर्ने, स्वच्छ एवम् सर्वसुलभ खानेपानी सेवा तथा सिँचाइ सुविधा र ऊर्जा क्षेत्रको विकास तथा विस्तार गर्ने, वन क्षेत्रको दिगो व्यवस्थापनमार्फत आयआर्जन, जीवनस्तर सुधार, पर्यापर्यटन तथा वातावरण संरक्षणको नीति आगामी आर्थिक वर्षमा लिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममार्फत अघिल्लो वर्षका अधिकांश योजनालाई प्राथमिकतालाई निरन्तरता दिँदै कृषि, पर्यटन, वन तथा पूर्वाधार विकासलाई थप सुदृढ बनाउने घोषणा गरेको हो । जलाधार क्षेत्रको संरक्षण दिगो वन व्यवस्थापन मार्फत हरितगृह उत्पादनमा जोड दिएको छ ।

प्रदेशमा स्वदेशी काठको प्रयोगलाई बढवा दिइएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

Translate »