महिला उद्यमी मेला तथा पिचिङ्ग कार्यक्रम सम्पन्न

सुर्खेत । व्यवसायको प्रवद्र्धन, बजारीकरण र लगानी जुटाउनका लागि सुर्खेतको वीरेन्द्रनगरमा महिला उद्यमी मेला तथा पिचिङ्ग कार्यक्रम सुरु भएको छ ।

महिला उद्यमशीलताको प्रवद्र्धन, महिला उद्यमीहरुबीच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गएिको हो । मेलामा महिला उद्यमीहरुले आफ्ना उत्पादनको प्रदर्शन तथा बिक्री गर्नुका साथै लगानीकर्तासमक्ष आफ्नो व्यावसायिक आइडिया प्रस्तुत गरी लगानीको अवसर जुटाउने प्रयास गरेको पाईएको छ ।

स्थानीय महिला उद्यमीहरुले तयार पारिएका हस्तकला, कृषि उपज, कपडा, अर्गानिक खाद्य सामग्रीलगायतका वस्तुहरु मेला प्रर्दशनीमा राखिएका छन् । मेलाको उद्घाटन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आफ्नो व्यवसाय विस्तारसँगै नयाँ स्टार्टअप सुरु गर्ने महिला उद्यमीहरुका लागि बैंकहरुले जोखिम मोलेर भएपनि लगानी गर्न आग्रह गरे ।

‘आजको जमानामा पनि महिलाहरु पूँजी अभावमा उद्यमी बन्नबाट बञ्चित हुनु हुँदैन् । लगानीको वातावरण बनाउनमा उद्योग वाणिज्य संघसंस्थासँगै बैंकहरुको भूमिका पनि प्रभावकारी हुनु पर्छ,’ उनले भने, ‘महिला उद्यमशीलतामार्फत क्षमता विकाससँगै परिवारदेखि समाज र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत पुग्छ । यसका लागि कर्णाली प्रदेश सरकार महिला उद्यमीसँग जतिबेला पनि हातेमालो गर्न तयार छ ।’

उनले स्थानीय स्रोतसाधनको उपयोग गरी रोजगारी सिर्जना गर्न महिला उद्यमीहरुले देखाएको साहसकोउच्च प्रशंसा गरे ।  घरायसी काममै सीमित रहेका महिलाहरुले आफ्नै उद्यमहुँदै औद्योगिक प्रतिष्ठानमा रुपान्तरण गर्ने प्रयासलाई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पदमबहादुर शाहीले महिलाका उत्पादनलाई वर्षभरी नै किनमेल गर्न सकिने गरि स्थायी स्टल उपलब्ध गराउन सरकारसँग आग्रह गरे । उनले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा विश्व बजारसम्म पुयाउन प्रविधिको उच्चतम् प्रयोग गर्दै ब्रान्ड र बजारीकरणमा सरकारी सहयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले महिला उद्यमीहरुलाई ग्राहकसँगको सञ्जाल विस्तार गर्न मेला तथा पिचिङ्ग कार्यक्रमले ठूलो मद्दत पुगेको बताए । यता महिला उद्यमी लक्ष्मी कार्की प्रधानले महिला उद्यमी मेला तथा पिचिङ्ग कार्यक्रमले महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन र नेतृत्व क्षमता विकास गर्न ठूलो भूमिका खेलेको बताईन् ।

उनले नयाँ स्टार्टअप सुरु गर्नका लागि विभिन्न इन्भेष्टर वा भेन्चर क्यापिटलहरुको अगाडि आफ्नो व्यापारिक योजना प्रस्तुत गर्ने अवसरका रुपमा पिचिङ्ग कार्यक्रमलाई आफुले लिएको जनाईन् । त्यस्तै कार्यक्रममा आफ्ना आइडिया प्रस्तुतीकरण गरेका महिला उद्यमीहरुले यसबाट आर्थिक लगानी, बीउ पूँजी र मेन्टरसिप  पाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

महिला उद्यमशीलताको विकास गर्न यस्ता कार्यक्रम निकै प्रभावकारी हुने उनीहरुको भनाइ थियो । मेलामा प्रेरणादायी वक्तृत्व, सफल महिला उद्यमीहरुको अनुभव साटासाट, महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, व्यवसायिक नेटवर्क विस्तार तथा नयाँ अवसरहरुको खोजी सम्बन्धी विभिन्न कार्यक्रमहरु समावेश गरिएका थिए ।

मेलामा रैथाने तथा मौलिक वस्तु तथा उत्पादनहरु राखिएका छन् ।

 

 

Translate »