४६ औं नेशनल एथलेटिक्स च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले चुम्यो, चार वटा नयाँ राष्ट्रिय रेकर्ड कायम

सुर्खेत ।  ४६ औं नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम भएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा आर्मी क्लवले ट्¥याक र फिल्डका अधिकांश विधामा उत्कृष्ट प्रदर्शन गर्दै १७ स्वर्ण, १२ रजत र ७ कास्यसहित कुल ३६ पदक प्राप्त गरी प्रथम भएको हो ।

प्रतियोगितामा नेपाल पुलिस क्लवले ८ स्वर्ण, ७ रजत र ३ कास्यसहित कुल १८ पदक जित्दै दोस्रो भएको छ । त्यस्तै बागमती प्रदेशले २ स्वर्ण, एक रजत र एक कास्यसहित कुल ४ पदक जितेर तृतीय भएको हो । प्रतियोगितामा नेपाल पुलिस क्लवकी जयरानी थारुले ५७ दशमलव १९ सेकेण्डमा ४ सय मिटर दौड पुरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी छन् ।

उनले नवौं राष्ट्रिय प्रतियोगितामा ४ सय मिटर दौडमा एपीएफकी रमिता थारुले बनाएको ५८ दशमलव १० सेकेण्डको राष्ट्रिय रेकर्डलाई तोडेकी हुन् । त्यस्तै ट्रिपलजम्पमा पनि नेपाल पुलिस क्लवकै केसरी चौधरीले बनाएको १२ मिटर २० सेन्टिमिटरको पुरानो रेकर्डलाई तोड्दै जयरानी थारुले १२ मिटर ४९ सेन्टिमिटरको नयाँ रेकर्ड कायम गरिन् ।

यसैगरी १६ सय मिटर रिले दौडमा भने त्रिभुवन आर्मी क्लवका महिला खेलाडीहरुले ४ दशमलव २ सेकेण्डको राष्ट्रिय रेकर्डलाई तोड्दै ४ दशमलवको नयाँ रेकर्ड कायम गरेका छन् । यस्तै त्रिभुवन आर्मी क्लवका सलिम देवानले लङ्गजम्प तर्फ आठौं राष्ट्रिय प्रतियोगिताको पुरानो ७ मिटर ३२ सेन्टिमिटरको रेकर्डलाई तोड्दै ७ मिटर ५८ सेन्टिमिटरको नयाँ रेकर्ड कायम गरेका हुन् ।

नेपाल एथलेटिक्स संघको आयोजना एवं कर्णाली प्रदेश खेलकुद परिषद्को सहयोगमा तीन दिनसम्म सञ्चालन भएको ४६ औं नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगितामा पुरुष तथा महिला तर्फ १४÷१४ गरी २८ इभेन्टमा प्रतिस्पर्धा भएका थिए । ७ प्रदेश, ३ विभागीय टिम गरी १० टिमबाट १२० महिला, १२० पुरुष गरी २४० जना महिला पुरुष खेलाडीहरुले २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका हुन् ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशसँगै विभागीय टिम तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, नेपाल सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरी तर्फ नेपाल पुलिस क्लबहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीय हुने खेलाडीले ५ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

Translate »