

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै जीप दुर्घटना हुँदा चालक र जीप मालिक बेपत्ता भएका छन् ।
गाडीसँगै बेपत्ता भएका दाङ बस्दै आएका वर्ष २४ का हेमराज विसी र सिद्ध कुमाख गाउँपालिका–४, का ४३ वर्षिय खलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।

बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ज ३०२२ नम्बरको जीप बुधबार दिउँसो सडकबाट ५० मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको थियो । जिपमा चार जना सवार थिए ।
नदीमा खसेको जीपसँगै चालक र जिपधनी बेपत्ता भएका थिए भने बन्गाड कुपिण्डे नगरपालिका १ आपखोली बस्ने वर्ष २९ का प्रेम विक र २१ का खुमलाल बुढाथोकीको घाइते अवस्थामा उद्दार गरिएको थियो ।
अहिले प्रहरी टोली घटनास्थल पुगेर बेपत्ता व्यक्ति र जीपको खोजी गरिरहेको छ । नदीको बहाव तथा गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।











