

काठमाडौं । आज तीज दर खाने दिन । विगतमा यही दिन दिदीबहिनीहरू एकै ठाउँमा जम्मा भएर दर खाने, सुख दुःख साट्ने र तीजको गीतमा रमाउने गर्थे । यसपटक भने कतिपय परिवारका लागि दर खाने दिन पनि हराएका आफन्तको सम्झनामा बितिरहेको छ ।
रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि त्यसको त्रास र पीडाले मुलुकका धेरै परिवारलाई रुवाएको छ । विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा तीजको उल्लासभन्दा आफन्तको खोजी, विस्थापनको पीडा र भोलिको चिन्ताले ठाउँ लिएको छ ।
अन्य जिल्लाका नागरिक पनि बाढीमा परेकाले देशभर शोक छाएको छ । यो एक अत्यन्तै मार्मिक र संवेदनशील वास्तविकता हो । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको औपचारिक सुरुवात हुने दर खाने दिन एकातिर उमङ्ग र खुसीको प्रतीक हो भने, अर्कोतिर यस वर्षको प्राकृतिक विपद्ले धेरैका घरआँगनमा ठूलो शून्यता र पीडा थपिदिएको छ ।
सामान्य अवस्थामा आजको दिन माइती तथा दाजुभाइले छोरीचेलीलाई बोलाएर मीठा–मीठा परिकार (जस्तैः खिर, ढकनी, घिउ आदि) खुवाउने र दर खाने गरिन्छ । तर, रसुवाको भोटेकोशी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र विपद्का कारण पीडित परिवारहरूमा भने यसपटक तीजको कुनै रौनक छैन ।
यस्तो संकटको समयमा समाजका अन्य वर्गले पनि तडकभडक र उच्छृङ्खलतालाई त्यागेर विपद्मा परेका दिदीबहिनी तथा परिवारप्रति सहानुभूति र सहयोगको हात बढाउनु नै मानवताको वास्तविक धर्म हुन जान्छ । चाडपर्वले हराएका आफन्त त फर्काउन सक्दैनन्, तर पीडामा रहेकाहरुलाई समाजको साथ र ढाडसले यो कठिन समयमा बाँच्ने थोरै भए पनि शक्ति पक्कै दिन्छ ।

चाडपर्वहरू आउँदा एकातिर उमङ्ग छाउँछ भने अर्कोतिर आफ्ना गुमाएका प्रियजनहरुको सम्झना झनै गाढा भएर आउँछ । चाडपर्वले खाली भएको ठाउँ त भर्न सक्दैनन्, तर यस्तो संवेदनशील समयमा समाज, साथीभाइ र छरछिमेकको एउटा सानो साथ, मिठो बोली र ढाडस पीडामा परेकाहरुका लागि ठूलो ओखती बन्न सक्छ । यसले उनीहरूलाई ‘म एक्लो छैन’ भन्ने महसुस गराउँछ र जीवनमा अघि बढ्ने एउटा आत्मबल दिन्छ । दुख बाँड्दा कम हुन्छ भन्नुको अर्थ पनि यही नै हो ।
सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो । तीजका गीत घन्किन्थे, दिदीबहिनी भेला भएर दर खान्थे, नाचगान गर्थे । कार्यालय, संस्था र समुदायमा तीज विशेष कार्यक्रम आयोजना हुन्थे । तर यसपटकको तीजको माहोल फरक छ ।
बाढीका कारण विस्थापित भएका सयौं नागरिक अहिले अस्थायी सेल्टरमा बसिरहेका छन् । उनीहरुका लागि चाडपर्व मनाउनु प्राथमिकता होइन । बिहान बेलुका खानेकुरा, सुरक्षित बसोबास, स्वास्थ्योपचार र हराइरहेका आफन्तको खोजी नै अहिलेको मुख्य आवश्यकता बनेको छ ।
बाढीबाट ज्यान जोगाएर फर्किएका धेरैले परिवारका सदस्य गुमाएका छन्, कसैले घरबास । कसैले घाइते अवस्थाबाट उपचारपछि बल्ल सामान्य जीवनतर्फ फर्किने प्रयास गरिरहेका छन् । बाढीको समयमा ज्यान जोगाउन भागेका महिला अहिले सुरक्षित स्थानमा भए पनि त्यो क्षणको त्रास सम्झँदा झस्किन्छन् । उनीहरूका लागि तीजका गीतभन्दा बाढीको गर्जन र भागदौडको स्मृति अझै ताजा छ ।
अस्थायी शिविरमा बसिरहेका महिला आफ्ना बालबालिकालाई सम्हालिरहेका छन् । राहतबाट प्राप्त खाद्यान्न र अन्य सामग्रीको व्यवस्थापन गर्दै उनीहरू परिवारको दैनिक जीवनलाई पुनः सामान्य बनाउने प्रयासमा छन् । चाडपर्व आए पनि उनीहरूका लागि सबैभन्दा ठूलो उत्सव आफ्ना परिवारका सदस्य सुरक्षित हुनु र हराइरहेकाहरू सकुशल भेटिनु हो ।
चाडपर्व दुःख बिर्साउने अवसर पनि हो । तर दुःख अत्यन्तै गहिरो हुँदा उत्सवभन्दा सहानुभूति र साथ आवश्यक हुन्छ । यसपटकको तीजले यही सन्देश दिएको छ–विपत्तिमा परेका परिवारलाई एक्लो नछाडौं, उनीहरुको पीडामा साथ दिऔं र पुनःस्थापनाका लागि हातेमालो गरौं ।











