

खलंगा । जाजरकोटस्थित भेरी नदीमा अचानक पानीको बहाव बढेर नदीको बिचमा फसेका ४ जना स्थानीयको हेलिकप्टरबाट सकुशल उद्दार गरिएको छ ।
आइतबार करिब पौने पाँच बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ कुदु निवासी केही व्यक्तिहरु भेरी नदीको बीच टापुमा फसेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्दार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका–१३, कुदुका ३२ वर्षिय नन्दलाल बिक, ४१ वर्षिय खिमबहादुर गिरी, ३४ वर्षिय विशाल सुनार र ३२ वर्षिय धनबहादुर सिंह ठकुरीको उद्दार गरिएको हो ।
जिल्ला सुरक्षा समितिका सम्पूर्ण पदाधिकारी सहित घटनास्थलमा पुगेर नेपाल विपद् प्राधिकरणसँगको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट भेरी नदीको बीच टापुमा फसेका उनीहरुको उद्दार सम्भव भएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार











