

सुर्खेत । १० औं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक छनौट चरणका प्रतिस्पर्धाहरु सुरु भएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मिनी कर्भड हलमा आजदेखि जिम्न्यास्टिक खेलका विभिन्न्न विधाका प्रारम्भिक छनौट चरणका प्रतिस्पर्धा सुरु भएका हुन् ।
आज भएका जिम्न्यास्टिक खेलमा महिला तथा पुरुष खेलाडीहरुले सन्तुलन, लचकता र शक्तिको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्स जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । देशका विभिन्न प्रदेश तथा विभागहरुबाट जिम्न्यास्टिक खेलका प्रारम्भिक छनौट चरणका खेलहरुमा नौ वटा टीमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

जिम्न्यास्टिक खेलका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार महिलातर्फ ४२ जना र पुरुषतर्फ ४८ जना खेलाडीले फ्लोर एक्सरसाइज, भल्ट र बार्स जस्ता विधाको प्रारम्भिक छनौट चरणमा प्रतिस्पर्धा गरिरहेका छन् ।

उनले जिमनास्टिक खेलमा (प्रारम्भिक छनौट चरण– कॉम्पिटिशन–१), ( कॉम्पिटिशन–२, अलराउण्ड) र अन्त्यमा ( कॉम्पिटिशन–३ एपरेटस फाइनल प्रतियोगिता) हुने जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी, कोशी प्रदेशसँगै विभागीय टोलीहरु नेपाल प्रहरी, एपीएफ र नेपाली आर्मीले सहभागिता जनाएको छ ।
देशका विभिन्न प्रदेश तथा विभागीय टोलीहरुले जिम्न्यास्टिक खेलमा टीम तथा व्यक्तिगत प्रतिस्पर्धा गरिरहेका छन भने कर्णाली प्रदेशका तर्फबाट एक जना पुरुषले मात्र व्यक्तिगत प्रतिस्पर्धा गरिरहेका छन् ।












